सत्तागठबन्धनका दलहरुले आसन्न स्थानीय तह निर्वाचनको लागि चुनावी तालमेल सहित महानगरपालिका र उपमहानगरपालिकामा भागवण्डा मिलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबिच चुनावी तालमेलको लागि ६ महानगरपालिका र ११ उपमहानगरपालिकाको भागवण्डमा सहमति जुटेको हो ।
सहमतिअनुसार नेपाली काँग्रेसले काठमाण्डौं महानगरपालिका, ललितपुर महानगरपालिका र बिराटनगर महानगरपालिकामा मेयर तथा भरतपुर महानगरपालिका, पोखरा महानगरपालिका र विरगञ्ज महानगरपालिकामा उपमेयर पद लिनेछ ।
त्यस्तै माओवादी केन्द्रले भरतपुर महानगरपालिकामा मेयर र ललितपुर महानगरपालिकामा उपमेयर तथा नेकपा एकिकृत समाजवादीले पोखरा महानगरपालिकामा मेयर र काठमाण्डौ महानगरपालिकामा उपमेयर पद लिनेछ । त्यस्तै जनता समाजवादी पार्टीले विरगञ्जको मेयर र विराटनगरमा उपमेयर लिनेछ ।
त्यस्तैगरी उपमहानगरपालिका तर्फ नेपाली काँग्रेसले बुटवल, धरान, इटहरी, कलैया, तुलसीपुर, नेपालगञ्ज र धनगढीमा मेयर तथा जितपुर सिमरा, घोराही र हेटौंडाको उपमेयरको पद लिनेछ । माओवादी केन्द्रले जीतपुर सिमरा र घोराही उपमहानगरपालिकामा मेयर पद लिनेछ भने धरान र धनगढी उपमहानगरपालिकामा उपमेयर लिनेछ ।
नेकपा एकिकृत समाजवादीले उपमहानगरपालिकामा हेटौडाको मेयर तथा बुटवल, इटहरी र तुलसीपुरको उपमेयर पाउनेछ । त्यस्तै जनता समाजवादी पार्टीले जनकपुर उपमहानगरपालिकाको मेयर तथा कलैया र नेपालगञ्जको उपमेयर पाउनेछ ।
बाँकी नगरपालिका, गाउँपालिका तथा वडामा भने गठबन्धनले जारी गरेको मापदण्ड अनुसार सिट बाँडफाँड तथा उम्मेद्वार चयन गर्न निर्देशन गरिएको छ । यदि सहमति हुन नसकेमा मित्रवत प्रतिस्पर्धा गर्न सक्ने गरी सहमति भएको छ ।