राप्रपा अध्यक्ष लिङदेनले नयाँ मतदातालाई भने – पहिलो मत हामीलाई दिनुहोस्

106

राप्रपा अध्यक्ष लिङदेनले नयाँ मतदातालाई भने – पहिलो मत हामीलाई दिनुहोस्

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नयाँ मतदातासंग पहिलो भोट आफ्नो पार्टीलाई माग्नु भएको छ । ‘पहिलो पटक मतदानमा सहभागि हुँदै गरेका युवाहरुलाई म आग्रह गर्न चाहन्छु, तपाईको पहिलो भोट देश र धर्मका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीलाई दिनुहोस ।’ राष्ट्रिय प्रजातन्त्र पार्टीले बिहिबार बुटवलमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो–‘हामीले अरु दलले जस्तो कहिल्यै कुरा फेरेका छैनौं, हिजो जे भनेका थियौं आज पनि त्यही भनिरहेका छौं, देश र जनताको सेवाको लागि एक पटक हामिलाई विचार गर्नुहोस् ।’
उहाँले भ्रष्टाचार मुक्त स्थानीय तह बनाउने प्रतिवद्धता सहित राप्रपा चुनावी अभियानमा जुटेको पनि बताउनु भयो । अध्यक्ष लिङदेनले पार्टीले टिकट दिएका उम्मेदवारलाई सम्बोधन गर्दै जसले जे धर्म मानेको छ, सोही अनुसार मठ, मन्दिर, गुम्बा, मस्जिदमा गएर भ्रष्टाचार नगर्ने प्रतिज्ञा गर्न पनि आग्रह गर्नुभयो । ‘यदि कसैले त्यस विपरित सोंचेको छ भने अहिल्यै छोड्दा हुन्छ ।’ उहाँले भन्नुभयो–‘पार्टीले अर्को मान्छेलाई उम्मेदवार बनाउँछ, उम्मेदवार भेटिएन भने बरु खाली छोड्छौं ।’
उहाँले राप्रपाले देश बनाउने संकल्प गरेको बताउँदै मागेर रासन भत्ता खाने प्रबृत्ति र चिन्तनले कहिल्यै देश विकास हुन नसक्ने जिकिर गर्नुभयो । त्यस्तै उहाँले सत्तामा हालीमुहाली गरेका र त्यसको रस खान पाएका बाहेक काँग्रेस, एमाले र माओवादीका नेता कार्यकर्ता पनि नेताका प्रबृत्तिले बेखुसी बनेको आरोप लगाउनु भयो ।
उहाँले देश भ्रष्टाचारले विग्रिएको बताउँदै तीनै पार्टी र तीनै नेताबाट देश विकास र सुशासनको कल्पना पनि गर्न नसकिने बताउनु भयो ।

कार्यक्रममा पार्टीका केन्द्रीय उपाध्यक्ष ध्रुवबहादुर प्रधान, नेता तथा पूर्व गृहमन्त्री निरञ्जन थापाले राप्रपा बाहेक अरु दललाई अहिले भोट माग्ने अधिकार नै नभएको टिप्पणी गर्नुभयो । एमाले, काँग्रेस, माओवादीलाई जनता र अदालतले पनि असक्षम ठह¥याएकोले उनीहरुले जनतासंग भोट माग्ने नैतिक अधिकार पनि नभएको बताउनु भएको थियो । त्यस्तै हिजो नेताहरुले सिंगापुर बनाउँछु भने पनि आज श्रीलंका बनाउने ठाउँमा पु¥याएको भनाई थियो ।
पार्टीका बुटवल नगर समिति अध्यक्ष निरजप्रताप खाँणको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश अध्यक्ष प्रदिपकुमार उदय, केन्द्रीय सहायक महामन्त्री ताहिर अली, केन्द्रीय सदस्य रेखा थापा, नेता तथा बुटवलका पूर्व मेयर पुनाराम पोखरेल लगायतले भनाई राख्नुभएको थियो ।