आर्थिक मन्दिले उद्योगी व्यवसायी मारमा

49

आर्थिक मन्दिले उद्योगी व्यवसायी मारमा

बैंक तथा वित्तिय संस्थामा लामो समयदेखिको तरलता अभावले आफूहरु मारमा परेको उद्योगी व्यवसायीहरुले बताएका छन् । बैंक तथा वित्तिय संस्थामा तरलता अभाव हुनु र अर्कोतर्फ मुलुकको अर्थतन्त्र संकटोन्मुख भएका कारण व्यापारमा समेत मन्दि आएको र कन्स्ट्रकसन होलिडेका नाममा ठेक्केदारहरुले निर्माणका काम बन्द गर्दा व्यवसायी थप मारमा परेको हार्डवेयर क्षेत्रका व्यवसायीहरुले बताएका हुन् ।
बुटवल उद्योग वाणिज्य संघ अन्तरगत गठित हार्डवेयर बस्तुगत समितिले शनिबार साँझ बुटवलमा आयोजना गरेको नयाँवर्षको शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रममा उनीहरुले कन्स्ट्रकसन होलिडेका नाममा काम बन्द गर्ने ठेक्केदारहरुलाई सरकारले हस्तक्षप गर्नुपर्ने र त्यसमा उद्योग वाणिज्य संघलाई पहलकदमी लिईदिन समेत आग्रह गरेका हुन् ।
कार्यक्रममा बोल्दै बुटवल उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष दिनेशप्रसाद श्रेष्ठले बस्तुगत समितिले उठान गरेका समस्यामा संघको गम्भिर ध्यानाकर्षण भएको र समस्या समाधानको लागि संघले पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । अहिले बैंक तथा वित्तिय संस्थामा भएको तरलता अभाव, अर्थतन्त्रमा गिरावटका कारण सबै क्षेत्रका उद्योगी व्यवसायी मारमा परेको बताउँदै उहाँले बेलैमा अर्थतन्त्र सुधारको लागि चनाखो भएर लाग्न सरकारलाई आग्रह गर्नुभयो ।
उहाँले अर्थतन्त्रमा आएको मन्दिले बैंकलाई किस्ता व्याज बुझाउन पनि नसक्ने अवस्था आएको बताउनु भयो । उहाँले संघले गुणस्तरीय सेवा र गुणस्तरीय सदस्यको नीति लिएको बताउँदै त्यसमा सहयोग गर्न पनि आग्रह गर्नुभयो ।

हार्डवेयर बस्तुगत समितिका सभापति अनिलकुमार गुप्ताले तरता अभाव र मुलुकमा उत्पन्न भएको आर्थिक मन्दीले आफूहरु मारमा परेको बताउनु भएको थियो । त्यस्तै बस्तुगत समितिका पूर्व सभापति गौरीशंकर गुप्ताले कन्स्ट्रकसन होलिडेका नाममा ठेक्दारहरुले काम रोक्दा आफूहरु पनि मारमा परेको र त्यसमा सरकारले हस्तक्षप गर्नुपर्ने भनाई राख्नुभयो ।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका सल्लाहकार तथा पूर्वअध्यक्ष नवराज श्रेष्ठ, संघका कार्यसमिति सदस्य तथा हार्डवेयर बस्तुगत समितिका पूर्वसभापति दिपकप्रसाद चापागाई, क्यालेण्डर प्रकाशन समितिका संयोजक राजन पाण्डे, सचिव धर्मेन्द्र कसौधन लगायतले शुभकामना व्यक्त गर्नुभएको राख्नुभएको थियो । त्यसै अवसरमा क्यालेण्डरका विज्ञापन दातालाई मायाँको चिनोले सम्मान गरिएको थियो ।