बुटवल ४ मा सत्ता गठबन्धनका उम्मेदवार परिचयात्मक कार्यक्रम : निर्वाचन परिचालन समिति गठन

1.3K

बुटवल ४ मा सत्ता गठबन्धनका उम्मेदवार परिचयात्मक कार्यक्रम : निर्वाचन परिचालन समिति गठन

बुटवल उपमहानगरपालिका वडा नं. ४ मा सत्ता गठबन्धनमा रहेका दलका उम्मेद्वारहरुको परिचयात्मक कार्यक्रम सहित चुनाव परिचालन समिति गठन गरिएको छ । बुधबार आयोजना गरिएको कार्यक्रममा मेयरउपमेयर सहित वडा अध्यक्ष र सदस्यका उम्मेदवारहरुको परिचयात्मक कार्यक्रम गरिएको हो ।
सोही अवसरमा अर्जुन रानाभाटको संयोजकत्वमा काँग्रेस सहित सत्ता गठबन्धनमा रहेका दलहरुलाई समेत समेटेर वडा नं. ४ को लागि चुनाव परिचालन समिति गठन गरिएको छ ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट मेयर पदका उम्मेदवार खेलराज पाण्डेले बुटवल उपमहानगरपालिकालाई सबैको साझा बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । त्यस्तैगरी उहाँले यहाँको सुकुम्बासी समस्या समाधान गर्ने र उद्योग, व्यापार व्यवसायलाई प्रवद्र्धन गर्नेगरी कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
नेपाली काँग्रेस बुटवल नगर समितिका सभापति समेत रहेका मेयर उम्मेदवार पाण्डेले व्यवहारिक समाजवाद आफ्नो जीवनको लक्ष्य रहेको बताउँदै विपिका सिद्धान्तलाई आजीवन पालना गर्ने र विपि, पुष्पलाल र सुर्यप्रसाद प्रधानको नाममा बुटवलमा पार्क निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
वडा सभापति अरुणकुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा उपमेयरका उम्मेदवार नेकपा एकिकृत समाजवादीका नेता चिनबहादुर गुरुङ, नेपाली काँग्रेस रुपन्देहीका सचिव परमानन्द भट्टराई, माओवादी केन्द्रका लुम्बिनी प्रदेश कोषाध्यक्ष मोह्मद निर्दोश अली, काँग्रेसका नेताहरु युवराज गिरी, महेशमान सिंह, नगर सचिव गंगा पन्थी, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजू, लगायतले शुभकामना सहित वडाका समस्या र निर्वाचित भईसकेपछि गर्नुपर्ने कुराहरुको बारेमा जानकारी गराउनु भएको थियो ।
नेपाली काँग्रेसको नेतृत्वमा भएको चुनावी तालमेल अनुसार बुटवलको मेयरमा नेपाली काँग्रेसका खेलराज पाण्डे र उपमेयरमा नेकपा एकिकृत समाजवादीका चिनबहादुर गुरुङ तथा वडा नं. ४ को अध्यक्षमा काँग्रेसका नरिश्वर शर्मा पौडेल र सदस्यहरुमा अरुणकुमार श्रेष्ठ, गोमा नेपाली, गफुर मिया र पुनम थापा रहेका छन् ।