रुपन्देहीको तिलोत्तमा नगरका मेयर घिमिरेले गरे निर्वाचन आचारसंहिता उल्लंघन

1.3K

रुपन्देहीको तिलोत्तमा नगरका मेयर घिमिरेले गरे निर्वाचन आचारसंहिता उल्लंघन

रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर वासुदेव घिमिरेले निर्वाचन आचारसंहिता उल्लंघन गर्नु भएको छ । घिमिरे नेकपा एमालेका चुनाब प्रचारका कार्यक्रममा लगातार सहभागी भई आचारसंहिता उल्लंघन गर्नुभएको हो ।
निर्वाचन कार्यालय रूपन्देहीका प्रमुख अयोध्या भण्डारीका अनुसार वहालवाला जनप्रतिनिधि पार्टीको चुनाब प्रचारमा खटिन पाउँदैनन् । उहाँ भन्नुहुन्छ–‘वहालवाला प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्षदेखि कार्यपालिका सदस्यसम्मले पार्टीका कार्यक्रममा सहभागी हुन मिल्दैन ।’
निर्वाचन आयोगको आचारसंहिताको बुँदा ५ मा नेपाल सरकार, प्रदेश सरकार, नेपाल सरकार वा प्रदेश सरकारका मन्त्री, स्थानीय कार्यपालिका तथा स्थानीय कार्यपालिकाका पदाधिकारीले प्रचारप्रसार गर्न नपाउने उल्लेख छ ।
‘कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने’ आचारसंहिताको बुँदा ५ (क) मा उल्लेख छ । तर, मेयर घिमिरेले बिहीबार वडा नम्बर ४ को एमालेको निर्वाचन सम्पर्क कार्यालय उद्घाटन गर्नुभएको हो । उहाँ तिलोत्तमा नगरपालिकाको प्रमुख पदमा वहाल रहेपनि लगातार पार्टीको कार्यक्रममा सहभागी हुन थालेपछि जनस्तरमा उहाँको कार्यशैलीको आलोचना हुन थालेको छ ।
त्यस्तै तिलोत्तमा नगरपालिकाले सञ्चालन गर्ने सामाजिक सञ्जाल फेसबुक पेजमा पनि एमाले उम्मेदवारको पक्षमा प्रचार सामाग्रि राखिएको छ । त्यसको आलोचना भएपछि अहिले भने नगरपालिकाले त्यसलाई हटाएको छ ।