आचारसंहिता उल्लंघन गरेकाे तिलाेत्तमाका मेयर घिमिरेकाे निर्वाचन आयाेगलाई चुनाैती

192

आचारसंहिता उल्लंघन गरेकाे तिलाेत्तमाका मेयर घिमिरेकाे निर्वाचन आयाेगलाई चुनाैती

रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै निर्वाचन आयोगलाई खुुला चुनौती दिनुभएकाे छ ।
निर्वाचन आचारसंहिताविपरीत तिलोत्तमाको नगरप्रमुख पदमा बहाल रहेकै अवस्थामा उहाँ नेकपा एमाले तिलोत्तमा नगर कमिटिको निर्वाचन परिचालन कमिटिको संयोजक बन्नुभएकाे छ ।
एमाले उम्मेदवार मोहन चापागाई र जागेश्वरीदेवी चौधरीकोे प्रचारमा खटिएका उहांले एमाले निर्वाचन प्रचारप्रसार कमिटिले आइतबार राती आयोजना गरेको पत्रकार सम्मेलनमा आचारसंहिता उल्लंघन गरेवापत् कारबाही गर्न निर्वाचन आयोगलाई चुनौती दिनुभयाे ।
पत्रकार सम्मेलनमा उहाँले चुनौती दिदै भन्नुभयाे–‘मैले निर्वाचन आचारसंहिता उल्लंघन गरिरहेको छु, पार्टीको निर्वाचन परिचालन कमिटिको संयोजक बनेको छु, मैले आचारसंहिता उल्लंघन गर्दा कारबाही गर्नसके गरे हुन्छ ।’
तिलोत्तमामा एमालेका प्रमुख उपप्रमुख उम्मेदवारसँग गरिएको पत्रकार सम्मेलनको अध्यक्षता गर्नुभएकाे थियाे । उहाँले आचारसंहिता उल्लंघन गर्नु सामान्य भएको बताएउनु भयाे। उहाँले भन्नुभयाे–‘म पार्टीको कार्यकर्ता हुुँ र अहिले म नगरप्रमुख पनि हुँ, मलाई पार्टीले जिम्मा दियो, म निर्वाचन परिचालन कमिटिमा छु, कसैले यसले आचारसंहिता उल्लंघन ग¥यो भन्ने लाग्छ भने कारबाही गर्नुस् ।’
उहाँले अहिले पनि आफु नगरप्रमुख रहेकाले मतदाता प्रभावित गर्ने गरी जुनसुकै योजना ल्याउन पनि सक्ने बताउनुभयाे । ‘मैले अहिले बजेट खर्च हुने काम नगरौला, तर मतदाता प्रभावित गर्ने गरी जुनसुकै घोषणा गर्नसक्छु, मैले घोषणा गरिदिए पुग्छ, मलाई कसले रोक्छ ?’
उहाँले पत्रकार सम्मेलनमा आफुले गरेका राम्रा कामको प्रचार नगरिदिएर आलोचना गरेको भन्दै पत्रकारहरुप्रति असन्तुष्टि व्यक्त गर्नुभयाे ।
उहाँले भन्नुभयाे–‘तपाइँहरुले विपक्षीहरुको कुरा सुन्नुभएको छ, अझै पनि म नै नगरप्रमुख हुँ, म जे पनि निर्णय गर्नसक्ने अधिकार राख्छु, मेरा कामका बारेमा लेखिदिनुहोला ।’
उहाँले चुनाबमा उम्मेदवार बनेका प्रतिष्पर्धीहरुको समेत आलोचना गर्दै तिलोत्तमामा चुनाब जित्ने सपना नदेख्न आग्रह गर्नुभयाे ।
प्रमुख घिमिरेसँगै तिलोत्तमा नगरपालिकाका प्रवक्ता रहेका सुरेन्द्र श्रीले पनि आचारसंहिता विपरीत जिम्मेवारी लिनुभएकाे छ। श्री नगरको जनप्रतिनिधितर्फको प्रवक्ता वहाल रहेकै अवस्थामा एमाले निर्वाचन प्रचारप्रसार समितिको जिम्मेवारी लिनुभएकाे छ । 
पत्रकार सम्मेलनमा उम्मेदवारहरु मोहन चापागाइँ र जागेश्वरीदेवी चौधरीले आफुले गरेका प्रतिबद्धता पूरा गर्ने बताउनु भएकाे थियाे ।