‘सञ्चार माध्यम नियन्त्रण हुने कानुन संशोधन गर्न सरकार तयार छ : मन्त्री बन्दी

74

‘सञ्चार माध्यम नियन्त्रण हुने कानुन संशोधन गर्न सरकार तयार छ : मन्त्री बन्दी

सञ्चार माध्यमलाई नियन्त्रण गर्ने कुनै कानुन भए संशोधन गर्न सरकार तयार देखिएको छ । कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री गोविन्द बन्दीले त्यस्तै कुनै कानुन छन भने त्यसलाई संशोधन गर्न सरकार तयार रहेको बताउनु भएको हो ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा मिडिया एक्शन नेपालले मंगलबार गरेको कार्यक्रममा उहाँले कुनै पनि बहानामा पत्रकारमाथि नियन्त्रण र घेराबन्दी गर्न नहुने बताउनु भएको हो । उहाँले भन्नुभयो– ‘सञ्चार माध्यममाथिको नियन्त्रण प्रचलित नेपाल कानुन, संविधान र नेपाल पक्ष राष्ट्र भएको अन्तर्राष्ट्रिय कानुनको प्रावधानविपरीत छ, भने त्यसमा समीक्षा आवश्यक छ । त्यसमा सुधार गर्न सरकार तयार छ ।’
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा मिडिया एक्सन नेपालले ‘डिजिटल घेराबन्दीमा पत्रकारिता’ विषयक अन्तरक्रिया कार्यक्रम गरेको थियो । कार्यक्रममा बोल्दै मन्त्री बन्दीले सञ्चारमाध्यमलाई नियन्त्रण नभई जिम्मेवार बनाउन सरकार प्रतिबद्व रहेको बताउनु भएको हो ।
सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगनबहादुर हमालले प्रविधिको प्रयोगले पत्रकारिताको दृष्टान्त परिवर्तन गरेको औंल्याउँदै प्रविधिको प्रयोगमार्फत सञ्चारमाध्यमले सही सूचना सम्प्रेषण गर्नुपर्ने बताउनु भयो ।
प्रेस काउन्सिल नेपालका अधिकृत झविन्द्र भुसालले अहिलेको अवस्थामा प्रविधिले अवसर र पहुँच सिर्जना गरेपनि सामाजिक सन्जालको दुरुपयोग बढेको बताउनु भयो ।
मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले विभिन्न बहानामा सञ्चारमाध्यमलाई नियन्त्रणमुखी बनाउन खोजिएको बताउनु भयो । उहाँले नेपाललगायत विश्वका विभिन्न देशमा कानुन निर्माणका क्रममा पत्रकारको गोपनीयता उत्खनन गर्ने तथा प्रेस काउन्सिल जस्ता संस्थालाई समेत यसमा प्रयोग गर्न खोजिएको भनाई राख्नुभएको थियो ।
अनलाइन टिभी पत्रकार संघका अध्यक्ष जीवन भण्डारीलले सञ्चारमाध्यमसम्बन्धी कानुन बनाउँदा सरकारले सरोकारवालासँग छलफल नै नगरी छापामार शैली अपनाउने गरेको आरोप लगाउनु भयो ।