बुटवलकाथारु समुदायले पाँच दलीय गठबन्धनबाट प्रमुख पदका उम्मेदवारलाई विजयी बनाउने बताएका छन् । बुटवल १६ नरैनापुरमा मतदाता भेटघाट गर्न पुगेका कांग्रेस नगर सभापति समेत रहेका प्रमुख पदका उम्मेदवार खेलराज पाण्डे र उपप्रमुखका उम्मेदवार चिनबहादुर गुरुङलाई जिताउन थारु समुदाय लाग्ने विश्वास दिलाएका छन् ।
थारु समुदायका अगुवा शान्तकुमारी कठरियाले थारुहरुका समस्या समाधान गर्नका लागि कांग्रेसले अगुवाई गर्नुपर्ने बताउनु भयो । ‘यसअघि एमालेका नेताहरु आएर के के गर्छौ भनेर आश्वासन दिएर गएका थिए, तर त्यसपछि फर्केर आएनन्, उहाँले भन्नुभयो–हामीलाई आश्वासन भन्दा बढी काम गर्ने मान्छे चाहिएको छ, तपाइँबाट आशा छ, विश्वास पनि छ, हामी यसपालि तपाईलाई जिताउँछौं ।’
उम्मेदवार पाण्डेले सो क्षेत्रमा थारु होमस्टे बनाउनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । उहाँले भन्नुभयो–‘यहाँ होमस्टे बनाउनका लागि म अगुवाई गर्छु, होमस्टे चलाएपछि नगरबाट के सहयोग गर्नुपर्छ, होमस्टे नै बनाइदिनुपर्ने हो भने पनि त्यसरी नै अघि बढाउनेछु ।’
पाण्डेले एक वार्ड एक पहिचान नीति लिइने बताउँदै एक सामुदायिक वन एक पार्क नीति ल्याउने बताउनु भयो । उहाँले बुटवलमा अहिलेसम्म नगरकै तर्फबाट अस्पताल नभएकाले २ वटा नगर अस्पताल निर्माण गर्ने बताउनु भयो ।
‘एक गृहणी एक उत्पादनः बुटवलको स्वाभिमान कार्यक्रम सञ्चालन गर्ने, कृषि मण्डी स्थापना गर्ने, बेलबास बेथरी सडक छिटै पूरा गराउने, घरबहाल कर घटाउने, हाटबजार व्यवसायीको बैठकी कर घटाउने जस्ता जनतालाई सिधै प्रभाव पर्ने कुरामा हामीले एकदमै ध्यान दिएका छौं,–उहाँले भन्नुभयो ।
यस्तै उपप्रमुख पदका उम्मेदवार चिनबहादुर गुरुङले समानुपातिक विकास र मुलुकमा स्थीरता ल्याउनका लागि गठबन्धनलाई विजयी बनाउनुपर्ने बताउनु भयो । उहाँले भने–‘एकपटक निर्वाचन भएपछि ५ वर्षसम्म मुलुकलाई स्थीर रुपमा चलाउनका लागि गठबन्धनलाई नै जिताउनुपर्छ, स्थानीय तहमा पनि गठबन्धनलाई जिताउनुस्, हामी बुटवलको बारेमा जे जे नराम्रो कुराहरु बजारमा आइरहेका छन्, त्यसलाई पूर्ण रुपमा सुधार गर्छौं ।’