स्थानीय तहको निर्वाचन तीन दिन बाँकी : आज रातीदेखि मौन अवधि सुरु हुँदै

35

स्थानीय तहको निर्वाचन तीन दिन बाँकी : आज रातीदेखि मौन अवधि सुरु हुँदै

आसन्न स्थानीय तहको निर्वाचनको मिति आउन अब ३ दिन मात्रै बाँकी छ । यहि बैशाख ३० गते हुने निर्वाचनको लागि आज राती देखि मौन अवधि पनि सुरु हुँदैछ । निर्वाचन आयोगले मंगलबार राति १२ बजेबाट मौन अवधि सुरु हुने भन्दै मौन अवधिको पालनामा ध्यान दिन सबै राजनीतिक दल तथा दलका उम्मेदवारलाई आग्रह गरेको हो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज मंगलबार राति १२ बजेबाट स्थानीय तह निर्वाचनका लागि मौन अवधि सुरु हुने र सो अवधिमा राजनीतिक दल तथा दलका उम्मेदवारलाई आयोगले तोकेअनुसारको दायरामा रहेर गतिविधि गर्न आग्रह गर्नुभएको छ । राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलका भ्रातृ संगठन वा सम्बन्धित व्यक्तिले मौन अवधिको पालना गर्नुपर्ने छ ।
मौन अवधिभर निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तत्र्रिmया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न हुँदैन । मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान स्थलको ३ सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्नेछ । यस्तै यो अवधिमा कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचारप्रसार गर्न पाइनेछैन ।
यस्तै मौन अवधिमा सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसार सामग्री पोस्ट सेयर गर्न वा गराउन पाइने छैन । आयोगले सामाजिक सञ्जालबाट निर्वाचन आचारसंहिता विपरीतका पोस्ट हटाउन र नयाँ पोस्ट नगर्न पनि सबैमा आग्रह गरेको छ ।
यस्तै, आजै राति १२ बजेबाट मतदान कार्य सम्पन्न नभएसम्म मादकपदार्थको बिक्रीवितरण र सेवन गर्न पनि आयोगले प्रतिबन्ध लगाएको छ । आयोगले तोकिएको अवधि र ठाउँमा मादकपदार्थ बिक्रीवितरण र सेवन गर्न निषेध गरिएको प्रवक्ता पौडेलले बताउनु भयो ।
मौन अवधिमा कसैले पनि उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिह्न अंकित पहिरन, टोपी, स्टिकर, लोगो, झोला, मास्क, ब्याचजस्ता सांकेतिक सामग्री प्रयोग गर्न, बिक्रीवितरण गर्न, प्रदर्शन गर्न–गराउन पनि नपाईने बताएको छ ।