भोली बुद्ध जयन्ती : भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आउँदै

57

भोली बुद्ध जयन्ती : भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आउँदै

भोली बुद्ध जयन्ती । बुद्ध जयन्तीको अवसरमा भोली लुम्बिनीमा विशेष समारोह आयोजना गरिएको छ । बुद्धजयन्तीको अवसरमा आयोजना हुने विशेष समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा आउने भएका छन् । उनको नेपाल भ्रमणलाई लिएर त्यस क्षेत्रको सुरक्षा व्यवस्था मजबुद बनाईएको छ । नेपालले भोली नै (जेठ २)मा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको तयारी गरेको छ ।
लुम्बिनी आउने भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री शेरबहादुर देउवा विचमा औपचारिक भेटवार्ता पनि हुने छ । एक महिना अगाडि प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाँदा समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । प्रधानमन्त्रीका रुपमा मोदीको यो पाँचौ नेपाल भ्रमण हो भने २०१९ मा पुनः प्रधानमन्त्री निर्वाचित भएपछि पहिलो नेपाल भ्रमण हो ।
लुम्बिनीमा मोदी र देउवाले मायादेवी मन्दिरमा पूजाअर्चना गर्ने छन् भने बिहार क्षेत्रमा बौद्ध संस्कृति र सम्पदा केन्द्रको शिलान्यास गर्नेछन् । त्यस्तै परराष्ट्रमन्त्री नारायण खड्काले भारतीय प्रधानमन्त्री मोदीसंग सिष्टाचार भेट गर्नेछन् । प्रधानमन्त्री देउवाले समकक्षी भारतीय प्रधानमन्त्री मोदी र भारतीय प्रतिनीधि मण्डलको सम्मानमा दिवाभोज दिने छन् ।
मोदी भोली नै स्वदेश फर्किने कार्यक्रम छ । मोदीको नेपाल भ्रमणको तयारी स्वरुप भारतीय बायु सेवाको जहाजमा गत बुधबार नै भारतीय अधिकारीहरु भैरहवा आईसकेका छन् ।