प्रधानमन्त्री देउवाले गरे लुम्बिनीमा नवनिर्मित अन्तर्राष्ट्रिय सभाहलको उद्घाटन

72

प्रधानमन्त्री देउवाले गरे लुम्बिनीमा नवनिर्मित अन्तर्राष्ट्रिय सभाहलको उद्घाटन

बुद्ध जन्मस्थल लुम्बिनीमा नवनिर्मित अन्तर्राष्ट्रिय सभाहल तथा ध्यान केन्द्रको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन् । चार विगाहामा निर्मित ५ हजार क्षमताको उक्त सभाहल तथा सम्मेलन केन्द्रको सोमबार बिहान प्रधामन्त्री देउवाले उद्घाटन गरेका हुन् ।
उक्त सम्मेलन केन्द्र निर्माणको लागि २०७५ बैशाख १७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गरेकी थिईन । लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईका अनुसार यो मुलुककै ठूलो र दक्षिण एशियाकै नमूना सभाहल हो ।
छाता शैलीमा निर्माण गरिएको सम्मेलन केन्द्रमा १० मिटर गहिराइका १४० वटा पाइल फाउन्डेसनमा निर्माण गरिएको छ । फाउन्डेसनमाथि ४० वटा पिलर ठड्याएर छानो बनाइएको छ । सभाहलको चारैतिरबाट चाइनिज इँटाको पर्खाल छ भने हलभित्र पस्न मुख्य तीन वटा सेन्सर ढोका र ५२ वटा साधारण ढोका छन् । हलमा हुने कार्यक्रम सबै कुनाबाट सुन्न सकिनेगरी निर्माण गरिएको छ ।
योजनाअनुसार ३ वर्षमा निर्माण पूरा हुनुपर्ने उक्त केन्द्र कोरोना महामारीका कारण ४ वर्षमा सम्पन्न भएको छ । कोरियन प्रविधिबाट छाना निर्माण गरिएको हलको भित्री सजावटमा चिनियाँ सामग्री प्रयोग भएका छन् । सभाहल गर्मीमा चिसो र जाडोमा तातो हुने वातानुकुलित प्रविधिसमेत जडान गरिएको छ । उज्यालोका लागि छतमा ४ सय ७६ वटा बत्ती जडान गरिएको छ भने सभा हलको छाना गर्मीमा चिसो र चिसोमा तातो हुने तथा साउण्ड प्रुफ प्रविधि राखिएको छ ।
लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईका अनुसार सभा हलमा बौद्ध सम्मेलनमात्र नभई सार्क, विमष्टेकजस्ता अन्तर्राष्ट्रिय ठूला सम्मेलन समेत आयोजना गर्न सकिने छ । प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले आज सोही सम्मेलन केन्द्रमा आयोजित २५६६ औं बुद्धजयन्ती समारोहलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।