बुटवल उपमहानगरपालिकामा काँग्रेस उम्मेदवार पाण्डेय दुई हजार एक सय बढी मतान्तरले अगाडि

1.3K

बुटवल उपमहानगरपालिकामा काँग्रेस उम्मेदवार पाण्डेय दुई हजार एक सय बढी मतान्तरले अगाडि

रुपन्देहीको बुटवल उपमहानगरपालिकामा फराकिलो मतान्तर सहित नेपाली काँग्रेस अगाडि छ । वडा नं. १, २, ३, १८ र १९ को मत गणना सकिएको छ भने अहिले वडा नं. ४ र १७ को गणना भईरहेको छ ।
जसमा मेयरमा नेपाली काँग्रेसका खेलराज पाण्डेयको सुरुवाती अग्रता फराकिलो भन्दै गएको छ । पछिल्लो मतपरिणाम अनुसार गठबन्धनको तर्फबाट मेयरमा पाण्डेयले ६ हजार ८०७ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्दी एमाले उम्मेदवार बाबुराम भट्टराईले ४ हजार ६४४ मत प्राप्त गरेका छन् । पाण्डेय र भट्टराईको मतान्तर २ हजार १६३ पुगेको छ ।
उपमेयरमा भने एमाले उम्मेदवार सावित्रा अर्यालको अग्रता छ । उपमेयरमा एमाले उम्मेदवार अर्यालले ५ हजार २०५ मत प्राप्त गर्दा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार चिनबहादुर गुरुङले ३ हजार ८०९ मत प्राप्त गरेका छन् ।
बुटवलमा गणना सम्पन्न भएको वडा नं. १ को वडा अध्यक्षमा काँग्रेसका बागी उम्मेदवार नरेन्द्र बस्नेत सहित गठबन्धनको प्यानल विजयी भएको छ । वडा नं. २ को अध्यक्षमा गठबन्धनका उम्मेदवार सुनिल शाही सहित प्यानल विजयी भएको छ । शाही नेकपा एकीकृत समाजवादीका हुन् । वडा नं. ३ को अध्यक्षमा विष्णु ढकालसहित गठबन्धनको प्यानल विजयी भएको छ । ढकाल माओवादी केन्द्रका हुन् ।
त्यस्तै वडा नं. १८ को अध्यक्षमा एमाले उम्मेदवार गुरुप्रसाद पंगेनी र बाँकी ४ सदस्य पदमा काँग्रेस उम्मेदवार विजयी भएका छन् । वडा नं. १९ को वडा अध्यक्षमा पनि एमाले उम्मेदवार चन्द्रसिंह थापा मगर तथा एक वडा सदस्यमा एमालेले जितेको छ भने बाँकी ती वडा सदस्य काँग्रेसले जीतेको छ । अहिले वडा नं. ४ र १७ को गणना अन्तिम चरणमा छ ।