बालश्रम रोक्न सरकार गम्भिर छ : मन्त्री शर्मा

55

बालश्रम रोक्न सरकार गम्भिर छ : मन्त्री शर्मा

लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले बालश्रम रोक्नको लागि प्रदेश सरकार गम्भीर रहेको बताउनु भएको छ । अझै पनि विभिन्न क्षेत्रमा बालबालिलाई श्रमिकको रुपमा काम लगाईएको बताउँदै उहाँले त्यसको अन्त्य गर्न प्रदेश सरकारले खेल्नुपर्ने भूमिका र स्रोत व्यवस्थापन गर्न मन्त्रालय तत्पर रहेको बताउनु भयो ।
बेस संस्थाले शुक्रबार बुटवलमा आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय बाल श्रमिक तथा बेचविखनको अवस्था अनुसन्धानको निष्कर्ष जानकारी तथा छलफल कार्यक्रममा बोल्दै मन्त्री शर्माले बालबालिकालाई श्रममुक्त बनाउने योजना प्रदेश सकारले ल्याउने बताउनु भयो ।
इँटा उद्योग, होटल लगायत क्षेत्रमा अझै पनि बालश्रमिक काममा रहेको विभिन्न तथ्यांकले देखाएको बताउँदै कानुन, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रमा घर्ती बालश्रम अन्त्य गर्न सरकारको लगानी खेर जान नदिने बताउनु भयो ।
त्यस्तै आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका सचिव कोमलप्रसाद धमलाले बालश्रम मुक्त बनाउने ऐन र कानुन बने पनि कार्यान्वयनको पाटो फितलो रहेको औंल्याउनु भयो । त्रिभुवन विश्वविद्यालयका प्रोफेसर केशवप्रसाद अधिकारीले अध्ययनबाट १४ वर्षमुनिका १० प्रतिशत बालबालिका श्रममा रहेको तथ्यांक प्रस्तुत गर्नुभएको थियो । वेसको टोलीले प्रदेशका ७ वटा जिल्लामा पुगेर अध्ययन गरेको थियो । कानुन अधिकृत सीता घिमिरे, अधिकृत सारदा बस्याल, अधिवक्ता मीना पाण्डे, नहकूल केसी लगायतले भनाई राख्नुभएको थियो । बेस संस्थाका अध्यक्ष चुणाबहादुर चौधरीको अध्यक्षता निर्देशक पिंकी डाँगीको स्वागत तथा पत्रकार विक्रम खड्काको सञ्चालनमा कार्यक्रम भएको थियो ।