आईतबारदेखि हराएको तारा एयरको जहाज मानापाथी हिमालको फेदी सानोशेर भन्ने स्थानमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । उक्त विमान यार्सागुम्बा खोज्न गएका किसानले सोमबार बिहान भेटाएका हुन् । उनीहरुले दिएको सूचनाको आधारमा नेपाली सेनाको टोली हेलीकप्टर मार्फत त्यहाँ पुगेको छ । त्यहाँ सवहरु क्षतविक्षत अवस्थामा भेटिएका छन् ।
आईतबार विहान ९ः५५ मा पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज १०ः०७ बजेपछि सम्पर्क विहिन भएको थियो । नाइन एन–एईटी कलसाइनको जहाज सम्पर्क विहिन भएदेखि नै तिब्र रुपमा खोजी गरिएपनि प्रतिकुल मौषमका कारण वेलुकी स्थगित गरेर विहानबाट खोजी सुरु भएको थियो । जहाजमा चालक दलका तीन सदस्य सहित २ विदेशी, ४ भारतीय र १३ नेपाली नागरिक थिए ।
विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव सिधै काठमाण्डौ लगेर आफन्तको जिम्मा लगाउने तयारी गरिएको छ । मुस्ताङको थासाङ गाउँपालिका वडा नं. २ मा पर्ने सानुभरे भन्ने भिरमा दुर्घटना भएकाले प्रतिकुल मौषमका कारण उद्धार टोली पठाउन सकिएको छैन । दुर्घटना स्थलमा विमानका कोही पनि जीवित अवस्थामा नभेटिएको र नेपाली सेना तथा स्थानीयको टोलीले शव संकलन गरेका छन् ।