पाल्पाको रिब्दीकोट गाउँपालिकाको नाममा भैरवस्थानलाई पनि जोड्न सुझाव

258

पाल्पाको रिब्दीकोट गाउँपालिकाको नाममा भैरवस्थानलाई पनि जोड्न सुझाव

पाल्पाको रिब्दीकोट गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनीधिहरुले रुपन्देहीमा रहेका आफ्ना मतदातालाई धन्यवाद ज्ञापन गरेका छन् । गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा बुटवलबाट गएर मतदानमा सहभागि भएका र सुभेच्छा राख्नेहरुलाई उनीहरु धन्यवाद ज्ञापन गरेका हुन् । गत शनिबार बुटवलमा आएर नवनिर्वाचित जनप्रतिनीधिहरुले धन्यवाद ज्ञापन गरेको नेपाली काँग्रेस भैरवस्थान वडा समितिका सचिव केदार खनालले बताउनु भयो ।
त्यस अवसरमा रुपन्देहीमा रहेका मतदाताले चुनाव जितिसकेपछि सबैलाई समान व्यवहार गर्न पनि जनप्रतिनीधिहरुलाई सुझाव दिएका छन् । ‘चुनावका बेला आफ्नो–आफ्नो पार्टी भन्ने र प्रचार गर्ने कुरा स्वभाविकै हो ।’ भैरवजनता माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक समेत रहनुभएका रिब्दीकोटबाट बुटवल बसाई सराई गरी आउनु भएका तिलकराम पौडेलले भन्नुभयो–‘अब चुनाव जितिसकेपछि सबैलाई एकैनासको व्यबहार गर्नुपर्छ ।’ सेवा प्रवाहमा पनि कसैप्रति बैरभाव गर्न नहुने उहाँको भनाई छ ।
कार्यक्रममा बोल्नेहरुलाई गाउँपालिकाको नाम रिब्दीकोटको अगाडि वा पछाडि भैरवस्थानलाई जोड्न पनि सुझाव दिएका छन् । एसियाकै ठूलो पहिलो त्रिसुल रहेको पहिचना बनेको र ऐतिहासिक मन्दिर रहेको गाउँपालिकाको नामाकरण गर्दा भैरवस्थानलाई नजरअन्दाज गरिएको भन्दै सर्वव्यापी भएको र मुलुकमा आफ्नै पहिचान बनाएको भैरवस्थानलाई गाउँपालिकाको नामा जोड्न सुझाव दिएका थिए । नेपाली काँग्रेस रिब्दीकोट रुपन्देही सम्पर्क समितिका सल्लाहकार कृष्णप्रसाद नेपालले १९ बुँदे सुझाव दिनुभएको छ ।
उहाँले दिएका सुझावमा सरकारले प्रदान गर्ने बृद्धभत्ता घरभरमै पु¥याउन, गाउँपालिकाको नाममा भैरवस्थानलाई पनि जोड्न, भैरवस्थान मन्दिर व्यवस्थापन समिति गठन गर्न र मन्दिरलाई व्यवस्थित गराउन, सरकारी विद्यालयका शिक्षकलाई सक्रिय राजनीतिमा निषेध गर्न, वेरोजगार जनशक्तिको पहिचान गरी रोजगारीमा जोड्न, मणिमुकुन्द सेनले सुरुवाती समयमा राज्य सञ्चालन गरेको पूर्णाकोटलाई पुरातात्विक र पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्न, उपयुक्त स्थानमा रङ्गशाला निर्माण, निश्चित समयमा चिकित्सक सहित घरघरमै पुगेर स्वास्थ्य चेकजाँच, कृषिमा कम्तिमा आत्मनिभर्र बनाउनेगरी विमा तथा बजार व्यवस्थापन, होम स्टे, सार्वजनिक शौचालय, सडकको स्तरोन्नती लगायतका कुराहरु समेटिएका छन् ।
त्यस्तै गाउँ फर्क अभियान सञ्चालन गर्न र गाउँफर्कनेहरुलाई व्यवसाय सञ्चालन गर्नको लागि अनुदानको व्यवस्था मिलाउन पनि सुझाव दिईएको छ । विद्यालयमा अंग्रजी कक्षा सञ्चालन, खानेपानी तथा विद्युत पोलहरुलाई व्यवस्थित गर्न पनि सुझाव दिईएको छ ।

त्यस्तै समाजसेवी मेघराज कंडेलले नागरिकका आधारभूत आवश्यकतालाई ध्यान दिएर नीति कार्यक्रम बनाउन सुझाव दिनुभयो । उहाँले गाउँपालिकाले गर्नुपर्ने कामहरुको प्राथमिकता निर्धारण गरेर काम गर्न पनि सुझाव दिनुभयो ।
कार्यक्रममा बोल्दै गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष नारायणबहादुर कार्कीले आफूले कृषि र पर्यटन, उत्पादन र स्वरोजगार तथा बजार व्यवस्थापन र कृषि उत्पादनको बजारीकरणलाई प्राथमिकता दिने बताउनु भयो । उहाँले अव कसैलाई पनि काखा र पाखा नगर्ने बताउँदै राजनीतिक आस्था र विचारका आधारमा विभेद नगरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै उपाध्यक्ष कान्ता अधिकारीले गाउँपालिकालाई भ्रष्ट्राचार मुक्त गराईने प्रतिवद्धता व्यक्त गर्नुभयो । आफूहरु जनताको सेवाको लागि आएको बताउँदै गाउँपालिकालाई समृद्ध बनाउन लागिपर्ने बताउनु भयो । त्यस्तै वडा नं. ४ भैरवस्थानका वडा अध्यक्ष शोमबहादुर कार्कीले वडाको विकासको लागि आफू प्रतिवद्ध रहेको बताउँदै गठबन्धनको मर्म अनुसार अगाडि बढिने बताउनु भयो । पाल्पाको रिब्दीकोट गाउँपालिकामा पाँच दलीय गठबन्धनका उम्मेदवार विजयी भएका थिए ।