लुम्बिनी सरकारको बजेटमा तयारी : उद्योग, कृषि र पर्यटनलाई प्राथमिकता दिन सुझाव

187

लुम्बिनी सरकारको बजेटमा तयारी : उद्योग, कृषि र पर्यटनलाई प्राथमिकता दिन सुझाव

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷०८० को लागि बजेटको तयारी गरेको छ । चालु आर्थिक वर्षमा स्वास्थ्यलाई प्राथमिकता दिएको प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि कृषिलाई प्राथमिकता दिईएको प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले बताउनु भयो ।
लुम्बिनी प्रदेश योजना आयोगले बजेटको प्राथमिकता तय गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषदको सभाहलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले कृषि र पर्यटनलाई प्राथमिकता दिन आग्रह गरेका छन् । प्रदेश सरकारले आगामी सोमबार प्रदेशको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने तयारी गरेको छ । सरकारको नीति तथा कार्यक्रममा पनि कृषिलाई प्राथमिकता दिईएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अजय शाहीले बताउनु भयो ।
सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रमका आधारमा प्रदेश योजना आयोगले बजेटको तयारी गरेको हो । बजेटमा के कस्ता कुरालाई समेट्नु पर्ला, के कुरालाई प्राथमिकता दिँदा प्रदेशको विकासमा टेवा पुग्दा ? प्राप्त सुझावका आधारमा बजेटको प्राथमिकता तय गरिने प्रदेश योजना आयोगका सदस्य डा. दामोदर भुसालले बताउनु भयो ।
प्रदेश सरकारले ल्याउने बजेटमा करिव ३५÷३६ अर्बको सिलिङ तोकिएको र त्यसका आधारमा बजेट ल्याउने सरकारको तयारी छ । आगामी आर्थिक वर्ष २०७९÷०८० को वार्षिक बजेटमा प्राथमिकता तय गर्न आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा यस क्षेत्रका उद्योगी व्यवसायीहरुले पलायन भईरहेको पुँजी कसरी रिटर्न (फिर्ता) गर्न सकिन्छ, त्यसतर्फ पनि ध्यान दिन आग्रह गरेका थिए ।
त्यस्तै लुम्बिनी प्रदेशको सन्दर्भमा उद्योग, कृषि र पर्यटनमा राम्रो सम्भावना भएकाले यी तीन क्षेत्रलाई प्राथमिकता दिएर बजेट बनाउन सुझाएका छन् । त्यस्तै कृषि लगायतका क्षेत्रमा दिईने अनुदानको मापदण्ड तय गर्न पनि उनीहरुको सुझाव छ ।