लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश सभाको बुधबार बसेको दशौं अधिवेशनको छैठौं बैठकमा लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले सरकारले तयार गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
सरकारले नीति कार्यक्रममा बढी कृषिलाई तथा उद्योग र पर्यटनलाई पनि प्राथमिकता दिएको छ । प्रदेश सभा बैठकको आरम्भमा मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश प्रमुख शेरचनलाई नीति कार्यक्रमको प्रति हस्तान्तरण गर्नुभएको थियो । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दीगो शान्ति, सुशासन, विकास र समृद्धि मार्फत समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्ने संवैधानिक मार्गदर्शन अनुरुप काम गर्न प्रदेश सरकार सक्षम भएको उल्लेख गर्दै प्रदेशलाई समृद्ध र आन्मनिर्भर प्रदेश बनाउने गरी नीति कार्यक्रमलाई प्राथमिकता दिईएको प्रदेश प्रमुख शेरचनले उल्लेख गर्नुभयो ।
‘समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश’ नारा सहित ल्याईएको नीति तथा कार्यक्रममा नदि सभ्यतामा आधारित प्रदेश राजधानी गुरुयोजना पुरा भई अगाडि बढेको उल्लेख गरिएको छ ।
