विद्युतीय सवारी साधनमा मन्त्री ढेंगाको जोड

1.3K

विद्युतीय सवारी साधनमा मन्त्री ढेंगाको जोड

लुम्बिनी प्रदेशकी श्रम, रोजगार तथा यातायात मन्त्री पूर्मती ढेंगाले विद्युतीय सवारी साधनमा जोड दिनुभएको छ । पेट्रोलियम पदार्थको विकल्पका रुपमा विद्युतीय साधनलाई प्राथमिकता दिन उहाँले आग्रह गर्नुभयो ।
लुम्बिनी अटोमोबाईल्स एशोसियसन अफ नेपाल नाडाका दोस्रो वार्षिक साधारणको रुपन्देहीको तिलोत्तमामा उद्घाटन गर्दै उहाँले विद्युतीय गाडीका चार्जिङ स्टेशन बनाउने तयारी भइरहेको र त्यसपछि विद्युतीय बस चलाउन निजी क्षेत्रसँग सहकार्य गरिने बताउनुभयो । मन्त्री मगरले उपभोक्ताको रुची अनुसारका सवारी साधन भित्र्याउन पनि यातायात क्षेत्रका व्यसायीलाई आग्रह गर्नुभयो ।
मन्त्री मगरले युवाहरुलाई देशमै रोजगार दिन अटो व्यवसायको ठूलो योगदान रहेको बताउनुभयो । प्रदेश सरकारले अटो व्यवसायलाई उकास्ने गरी अटो तालिमका साथै उद्यम व्यवसायी बनाउने रुपमा उद्यमशीलतामूखि कार्यक्रमहरु ल्याएको बताउनुभयो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डयले अटो क्षेत्रका व्यवसायीको अनुहार निरास भइरहेको भन्दै उहाँहरुलाइ ऊर्जा भर्न प्रदेश र स्थानीय सरकार तयार रहेको बताउनुभयो । उहाँले व्यवसायीमैत्री बन्न र हातेमालो गर्न बुटवल उपमहानगर सधै तयार रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा नाडाका केन्द्रीय अध्यक्ष ध्रुवबहादुर थापाले प्रदेशस्तरमा संस्थालाई विकेन्द्रीकरण गरी व्यवसायीहरुलाई संगठित र मजबुत बनाउने कामलाई अघि बढाएको बताउनुभयो । इतिहासमै अटो क्षेत्र सबैभन्दा कठिन समस्यामा रहेकोले सरकारको विशेष ध्यान जानुपर्नेमा जोड दिनुभयो ।
साढे ३ खर्बको लगानी, एक लाख प्रत्यक्ष र राजश्वमा २५ प्रतिशत योगदान दिएको क्षेत्रलाई राज्यबाट योगदानको महत्तव बुझ्न नसकेको दुखेसो गर्नुभयो । विद्युतिय सवारीलाई प्राथमिकता राख्ने भनेपनि व्यवहारमा कार्यान्यनमा चुकेको उहाँले दुखेसो गर्नुभयो ।

नाडा लुम्बिनीका अध्यक्ष गणेश भट्टराईले लुम्बिनी प्रदेशका १२ जिल्लाका व्यवसायीहरुलाई संगठित गर्दै अगाडि बढेको बताउनुभयो । देशको राजश्वमा २५ प्रतिशत योगदान दिएको र लाखौं युवाहरुलाई रोजगार दिन सफल भएको र कुल आयको दोब्बर राजश्व अटो मोबाईल्स व्यवसायीहरुले उपलब्ध गराउने गरेको उहाँले बताउनुभयो ।
सरकारले पछिल्लो समय सवारी आयातमा प्रतिबन्धले आर्थिक समस्या उत्पन्न हुने देखिएको बताउनुहुँदै उहाँले अटोमोबाईल्स व्यवसायमा सङ्कटमा परेको बताउनुभयो । समृद्धिको यात्रामा अघि बढेको देशकै विकास गर्न पर्यटन र कृषि प्रमुख मानिने भएकाले पनि यसमा अटो मोबाईल्सको महत्वपूर्ण योगदान रहेको उहाँको भनाइ छ । त्यस्तै बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले अहिले व्यवसायीहरु ठूलो समस्यामा परेको भन्दै समस्या समाधानमा गम्भिर बन्न सरकारलाई आग्रह गर्नुभयो । उद्योगी व्यवसायीका समस्या समाधानमा बुटवल उद्योग वाणिज्य संघ हातेमालो गर्न सधै तयार रहेको पनि उहाँले बताउनु भयो ।
यसैगरी, ट्राफिक प्रहरी कार्यालय लुम्बिनी प्रदेशका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्र सिंह थापाले ट्राफिक नियमको पूर्ण पालना नभई दुर्घटनामा कमी नआउने भन्दै यसतर्फ सबै सचेत हुनुपर्ने बताउनुभयो । त्यसै अवसरमा पत्रकारहरु कपिल ज्ञवाली र स्वस्तिक श्रेष्ठलाई सम्मान गरिएको थियो ।