नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले देशलाई अमेरिकी सैन्य गठबन्धनमा सहभागि गराउन खोजेको आरोप लगाउनु भएको छ । नेपालको असंलग्न परराष्ट्र नीति विपरित अमेरिकासँग स्टेट पाटनसीप प्रोगाम (एसपीपी) सम्झौता गर्न खोजेको बताउँदै महासचिव पोखरेलले त्यसमा आपत्ति जनाउनु भयो ।
प्रेस चौतारी नेपाल रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले एमाले कुनै पनि बहानामा सैनिक गठबन्धनको पक्षमा नरहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो–‘नेपालको असंलग्न परराष्ट्र नीति विपरीत अमेरिकी सैन्य रणनीतिमा देशलाई पु¥याएर गलत काम भैरहेको छ, कुनैपनि बहानामा सैनिक गठबन्धनको पक्षमा एमाले छैन ।’
मुलुकको विकास र समृद्धिका लागि बलियो शक्तिको आवश्यकता रहेको बताउँदै उहाँले गठबन्धनको राजनीति नीतिगत अस्थिरता र वैदेशिक चलखेललाई आमन्त्रण गर्ने राजनीति भएकाले आफूहरू त्यसको विपक्षमा रहेको भनाई राख्नुभयो ।
लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री समेत रहनुभएका एमाले महासचिव पोखरेलले लुम्बिनी प्रदेश सरकारकी राज्यमन्त्री विमला वलीका बारेमा आएका टिकाटिप्पणीमा सरकार वेखवर हुन नपाउने भनाई राख्नुभयो ।