पाल्पा उद्योग वाणिज्य संघको टोलीलाई बुटवलमा स्वागत : दुई पक्षीय सम्बन्धमा छलफल

168

पाल्पा उद्योग वाणिज्य संघको टोलीलाई बुटवलमा स्वागत : दुई पक्षीय सम्बन्धमा छलफल

संस्थागत भ्रमणमा निस्केको पाल्पा उद्योग वाणिज्य संघको टोलीलाई बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा स्वागत गरिएको छ । बुधबार साँझ बुटवल उद्योग वाणिज्य संघको सभाहलमा पाल्पाको टोलीलाई स्वागत गर्नुको साथै दुई पक्षीय सम्बन्धका विषयमा छलफल गरिएको हो ।
स्वागतमा दुई संघको संस्थागत जानकारी आदानप्रदान गर्नुको साथै दुबै संघले सञ्चालन गरेका कार्यक्रमको बारेमा जानकारी लिईएको थियो । त्यस अवसरमा बोल्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले संघले यस क्षेत्रको आर्थिक तथा सामाजिक विकारमा गरेको योगदानको बारेमा जानकारी गराउनु भयो ।
उहाँले २००९ सालमा तदर्थ समिति गठन भएदेखि उद्योगी व्यवसायीहरुको हकहितसंगै यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासको लागि लुम्बिनी वाणिज्य क्याम्पस, सिद्धार्थ गौतमबुद्ध क्याम्पस, सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)को स्थापना, बुटवल बहुमुखी क्याम्पसमा विज्ञान विषय पठनपाठनका लागि विज्ञान भवन निर्माण, साविक लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा प्रसुति भवन निर्माण, सोही अस्पतालमा क्याविन निर्माण, सुरक्षाका दृष्टिले बुटवलका बिभिन्न स्थानमा प्रहरी विट, ईलाका प्रहरी कार्यालय बुटवलमा थुनुवा कक्ष निर्माण लगायतका थुप्रै काममा आर्थिक सहित नेतृत्वदायी भूमिका निर्वाह गरिएको जानकारी गराउनु भयो ।
त्यस्तै पछिल्लो कोरोना महामारीको समयमा उपचार सेवालाई सहज बनाउनको लागि आम्दा अस्पतालमा आईसीयु सहितको कोभिड–१९ वार्ड स्थापना गरिएको उहाँले जानकारी गराउनु भयो । त्यस बाहेक यस क्षेत्रको आर्थिक विकासको लागि मोतिपुर औद्योगिक क्षेत्र, सिद्धार्थ राजमार्गको स्तरोन्नती, औद्योगिक प्रदर्शनी स्थल बुटवल मण्डपको जग्गा प्राप्ती, पाल्पाको सिद्धबाबा सडक क्षेत्रलाई सुरक्षित बनाउने लगायतका योजनाहरुको लागि संघले पैरवी गर्दै आएको र संघले पैरवी गरिरहेका कतिपय योजनाहरु अझै भईनसकेको जानकारी गराउनु भएको थियो ।

त्यस्तै पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जनले पाल्पा उद्योग वाणिज्य संघ र बुटवल उद्योग वाणिज्य संघको स्थापना एउटै समयमा भएको र आर्थिक तथा सामाजिक विकासमा गरेका योगदान पनि एउटै प्रकृतिको भएको जानकारी गराउनु भयो । उहाँले पर्यटन विकासको लागि पाल्पा राम्रो गन्तव्य भएपनि बुटवल–पाल्पा सडकको दुरावस्थाका कारण सोचेजस्तोगरी पर्यटन विकास गर्न नसकिएको बताउनु भयो । पाल्पामा ऐतिहासिक, प्राकृतिक तथा धार्मिक पर्यटनको राम्रो सम्भावना रहेको बताउँदै लुम्बिनी आउने पर्यटकलाई पाल्पा लैजानको लागि के गर्न सकिन्छ, त्यसमा सहयोग गर्न आग्रह गर्नुभयो । पाल्पामा ऐतिहासिक भगवती मन्दिर, रानीमहल, भैरवस्थान, चारधाम मध्येको एक रिडिको ऋषिकेश मन्दिर लगायतका ऐतिकासिक तथा धार्मिक केन्द्र रहेकोले पाल्पाको पर्यटन विकोको लागि प्रचारप्रसार संगसंगै यातायात पूर्वाधारको विकासमा जोड दिनुभयो । उहाँले बुटवलका व्यापारिक विकास तथा पाल्पाको पर्यटन विकासलाई कसरी अगाडि बढाउन सकिन्छ, दुई संघले सहकार्य गर्न सके त्यसको विकासबाट दुबै क्षेत्रले फाईदा लिन सक्ने भनाई राख्नुभयो । त्यस्तै उहाँले लुम्बिनी सर्किटमा पाल्पा नगरेको बताउँदै लुम्बिनी सर्किटमा पाल्पालाई पनि पार्न भुमिका खेलिदिन आग्रह गर्नुभयो ।
त्यस अवसरमा बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेप्रसाद श्रेष्ठले बुटवलको व्यापार र पाल्पाको पर्यटनलाई जोडेर एकिकृत कार्यक्रम सञ्चालन गर्न सकिने धारणा राख्नुभयो । उहाँले बुटवललाई पनि पयटकको गन्तव्य बनाउन सकिने बताउँदै यहाँको ऐतिहासिक जीतगढी किल्ला, मणिमुकुन्द सेनको सितकालिन दरवार र ऐतिहासिक बटौली बजारको संरक्षण गर्न सक्ने हो भने यहाँको पर्यटन विकास संगै व्यापार व्यवसायको पनि विकास गर्न सकिने र यहाँ आउने पर्यटकलाई पाल्पा पु¥याउन पनि सहज हुने भनाई राख्नुभयो ।
त्यस अवसरमा बुटवल उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक मदनकुमार कार्कीले संघले हालसम्म गरेका गतिबिधिहरु, सञ्चालन गरेका कार्यक्रमहरु र पाईपलाईनमा रहेका कार्यक्रमहरुको बारेमा प्रस्तुती गर्नुभएको थियो । कार्यक्रम महासचिव बिमलराज भट्टराईको सञ्चालनमा भएको थियो । पाल्पाबाट संस्थागत भ्रमणमा निस्केको टोली स्याङ्जा, पोखरा, तनहुँ, लमजुङ, चितवन, नवलपरासी, बुटवल हुँदै पाल्पा फर्किएको पाल्पा उद्योग वाणिज्य संघका महासचिव शैलेन्द्र भट्टराईले जानकारी गराउनु भयो ।