सुकुम्बासीलाई चाडो जग्गा दिन गृहमन्त्री खाँणको निर्देशन

1.3K

सुकुम्बासीलाई चाडो जग्गा दिन गृहमन्त्री खाँणको निर्देशन

गृहमन्त्री वालकृष्ण खाँणले भूमिआयोगलाई परिणाम दिनेगरी काम गर्न निर्देशन गर्नुभएको छ । उहाँले भूमिहिन सुकुम्बासीलाई जतिसक्दो चाँडो जग्गाको स्वामित्व प्रदान गर्न आयोगलाई निर्देशन गर्नु भएको हो ।
राष्ट्रिय भूमि आयोगले लुमिबनी प्रदेश स्तरीय जिल्ला समितिका पदाधिकारीहरुका लागि शनिबार बुटवलमा आयोजना गरिएको अभिमुखिकरण गोष्ठीमा बोल्दै मन्त्री खाँणले प्रकृया पुरा गरेर जतिसक्दो चाडो भूमिहिनलाई जग्गा धनी पुर्जा वितरण गर्न आयोगका पदाधिकारीहरुलाई निर्देशन गर्नु भएको हो ।
पुर्जा वितरण गर्दा कुन पार्टीले जित्ला हार्ला भन्ने कुरालाई ध्यान नदिन पनि उहाँले आग्रह गर्नुभयो । त्यस्तै उहाँले स्थानीय तहका जनप्रतिनीधिहरुलाई पनि आयोगका कामकारवाहीमा सहयोग गर्न आग्रह गर्नुभयो । ‘सरकारले के गर्नु पर्छ, बजेट कति चाहिन्छ, सुरक्षा व्यवस्था मिलाउनु पर्ने हो की, सबै काम गर्न सरकार तयार छ ।’ गृहमन्त्री खाँणले भन्नुभयो–‘भूमिहिनलाई जग्गाको मालिक बनाउने काममा स्थानीय सरकारको पनि ज्यादै ठूलो सहयोग चाहिन्छ, स्थानीय जनप्रतिनीधिहरुलाई म आग्रह गर्न चाहन्छु– पूर्ण रुपमा सहयोग गर्नुहोला ।’ उहाँले भूमिहिन सम्बन्धि सबै समस्या समाधान गरेर यो समस्या सदाका लागि अन्त्य हुने पनि विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै प्रतिनीधि सभा सदस्य मिन विश्वकर्माले आयोगले भूमिहिन सुकुम्बासीहरुले उपभोग गर्दै आएको जग्गाको स्वामित्व प्रदान गरेर उसलाई त्यो जग्गाको मालिक बनाएर यो समस्या सदाका लागि अन्त्य गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा आयोगका केन्द्रीय अध्यक्ष केशवप्रसाद निरौलाले नेपालमा भूमिहिन समस्याको अन्त्य गर्नेगरी आयोगले काम गरेको बताउँदै आगामी आर्थिक वर्षको अन्त्य सम्ममा सबै भूमिहिनलाई पुर्जा वितरण गरिसक्ने जानकारी गराउनु भयो । त्यस अवसरमा भूमिहिनलाई पुर्जा वितरण गर्दा के कस्ता कुराहरुलाई ध्यान दिनुपर्छ भन्ने विषयमा भएका नीतिगत तथा कानुनी प्रकृयाका बारेमा आयोगका सूचना अधिकारी उपसचिव मणिप्रसाद रेग्मीले सहजिकरण गर्नुभएको थियो ।