कारागारबाट रिहा भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले न्यायकाे लडाई अझै बाँकी रहेकाे प्रतिक्रया दिनुभएकाे छ । शुक्रबार साँझ भैरहवास्थित जिल्ला कारागार रुपन्देहीबाट रिहा भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै न्यायका लागि आफ्नो संघर्ष अझै जारी रहेको बताउनु भएकाे हाे ।
आफू बोल्ने समय आउने भन्दै लामिछानेले न्यायकाे लागि लड्नुपर्ने कुरा आफ्नाे व्यक्तिगत विषय नभएकाे र देशमाथि गरिएको अन्यायको हिसाबकिताब गर्न बाँकी नै रहेकाे बताउनु भयाे ।
काठमाडौंबाट हवाईजहाजमार्फत भैरहवा आउने तयारी भए पनि खराब मौसमका कारण चितवनसम्म हवाई र त्यसपछि सडकमार्ग हुँदै साँझ करिब पौने ६ बजे भैरहवा कारागार पुग्नुभएकाे थियाे । कारागारमा आइपुग्दा र रिहा भएपछि रबिका समर्थकहरूले हुटिङ गरेका थिए ।
रूपन्देही जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालका अनुसार उच्च अदालतको आदेशअनुसार आवश्यक सर्त पूरा गरी बैंक जमानतको कागजात बुझाएपछि लामिछानेलाई रिहा गरिएको हो । बिगो बराबरको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बुझाएपछि लामिछानेलाई कारागारमुक्त गरिएकाे हाे ।
बुटवलको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका रबिलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सर्तसहित धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।