काँग्रेस महाधिवेशन वैशाखमा गर्ने प्रस्ताव पारित

1.3K

काँग्रेस महाधिवेशन वैशाखमा गर्ने प्रस्ताव पारित

नेपाली काँग्रेसले पार्टीको १५ औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३० गतेसम्म आयोजना गर्ने प्रस्ताव पारित गरेको छ । पार्टीकाे शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गर्दै हालको केन्द्रीय समितिको कार्यकाल आगामी जेठ मसान्तसम्म थप गर्ने प्रस्ताव पनि स्वीकृत गरेको हो ।
बैठकले विधानअनुसार महाधिवेशनको तयारी, अधिवेशन प्रक्रिया र संगठन व्यवस्थापनका लागि समय आवश्यक पर्ने निष्कर्षसहित केन्द्रीय समितिको म्याद थप गर्ने निर्णय गरेको छ ।
तर, उक्त निर्णयप्रति पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माकाे विमति छ । विधान  अनुसार समयमै महाधिवेशन हुनुपर्ने र कार्यकाल थप गर्नु पार्टीभित्र गलत सन्देश जाने भन्दै महामन्त्री द्वयकाे आपत्ति छ ।
कार्यसम्पादन समिति बैठकको बहुमतले विशेष महाधिवेशनको प्रस्ताव तत्काल आवश्यक नरहेको निष्कर्ष निकाल्दै नियमित १५ औँ महाधिवेशनको तयारीमै केन्द्रित हुने निर्णय गरेको हो ।
बैठकमा महाधिवेशनको तयारी समिति गठन, सदस्यता नवीकरण, क्रियाशील सदस्यता विवाद समाधान तथा तल्ला तहका अधिवेशनको तालिकाबारे समेत छलफल भएको थियो ।