फागुनको मध्यसम्म चरम वर्षा र आकस्मिक बाढी–पहिरोको जोखिम छैन

1.3K

फागुनको मध्यसम्म चरम वर्षा र आकस्मिक बाढी–पहिरोको जोखिम छैन

जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको पछिल्लो ऋतुगत जलवायु आकलनले हिउँद मौसममा चरम वर्षा वा आकस्मिक बाढी–पहिरोको जोखिम न्यून रहने संकेत गरेको छ । विभागका अनुसार आगामी दुई महिना ९पुस १७ देखि फागुन १६ गतेसम्म० देशका अधिकांश भूभागमा वर्षा सरदरभन्दा कम हुने सम्भावना रहेकाले मौसम स्थिर रहने अपेक्षा गरिएको छ ।
विभागका सूचना अधिकारी दिनकर कायस्थले हिउँदमा अत्यधिक वर्षाका कारण हुने अवरोध, सडक अवरुद्ध हुने समस्या तथा आकस्मिक विपद्को सम्भावना कम रहने बताउनु भयो । उहाँका अनुसार कम वर्षाको आकलनले पूर्वाधार निर्माण, यातायात सञ्चालन र दैनिक जनजीवन तुलनात्मक रूपमा सहज हुने संकेत गर्छ ।
यद्यपि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही उत्तरी भूभागमा भने सरदर वा सरदरभन्दा केही बढी वर्षा हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ, जसले उच्च हिमाली क्षेत्रमा हिउँ सञ्चिति र जलस्रोत सन्तुलनमा सकारात्मक प्रभाव पार्न सक्ने विज्ञहरूको भनाइ छ ।
विभागका अनुसार हाल प्रशान्त महासागरमा लानिना अवस्था कमजोर हुँदै तटस्थतर्फ उन्मुख रहेको छ । यसले एल–निनोका कारण देखिने असामान्य मौसमीय असर नेपालमा नपर्ने संकेत गर्छ । त्यस्तै, हिन्द महासागरमा विकसित हुने इन्डियन ओसन डिप्लोइक पनि तटस्थ अवस्थामा रहेकाले हिउँदमा मौसम तुलनात्मक रूपमा सन्तुलित रहने आकलन गरिएको छ ।
विभागले सार्वजनिक गरेको यो जलवायु आकलन कृषि योजना, जलस्रोत व्यवस्थापन, ऊर्जा उत्पादन तथा विपद् न्यूनीकरणका लागि उपयोगी आधार बन्ने विश्वास लिइएको छ । यद्यपि जलवायु प्रणाली बहुआयामिक हुने भएकाले मौसम पूर्वानुमानलाई शतप्रतिशत सुनिश्चित मान्न नसकिने विभागले स्पष्ट पारेको छ ।