सामान्यतया विद्यालयका मञ्चहरूमा बालबालिका नाच्ने र अभिभावकहरूले ताली बजाउने दृश्य नियमित जस्तै लाग्छन् । तर, बुटवल–११ कालिकानगर स्थित इन्टलेक्चयुअल एकेडेमीको प्राङ्गणमा एउटा यस्तो दृश्य देखियो, जहाँ दृश्य र भूमिका दुवै बदलिएका थिए । घरको भान्सादेखि विभिन्न कार्यालयका कार्यकक्षसम्म कुशलतापूर्वक जिम्मेवारी निभाउँदै आएका आमाहरू जब साङ्गीतिक धुनमा स्टेजमा उत्रिए, तब उपस्थित दर्शकहरू मात्र होइन, स्वयम् आफ्नै सन्तानहरू पनि मन्त्रमुग्ध भए ।
अभिभावकहरूमा लुकेको सुसुप्त प्रतिभालाई प्रस्फुटन गराउने र उनीहरूको आत्मविश्वासमा नयाँ ऊर्जा भर्ने उद्देश्यले आयोजित ‘मम्मी डान्स कम्पिटिसन’ मा २० जना आमाहरूले आफ्नो कलाको जादु छरेका थिए ।
प्रतियोगितामा सहभागी २० जना आमाहरू समाजका विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्दथे । कोही घरको व्यवस्थापनमा तल्लीन गृहणी थिए भने कोही कार्यालय र व्यवसाय सम्हाल्ने पेसाकर्मी । तर स्टेजमा उत्रिँदा उनीहरूको परिचय केवल ‘कलाकार’ को थियो ।
आफ्नो नृत्य कौशल र मञ्चीय प्रस्तुतिले सबैलाई चकित पार्दै गङ्गा भट्टराई प्रथम हुनुभयो । त्यसैगरी, सीता श्रेष्ठले द्वितीय र सबिता विक तृतीय हुनुभयाे । प्रतियोगितामा विष्णु पल्ली मगरलाई सान्त्वना र सुधा नेपालीलाई प्रोत्साहन पुरस्कार प्रदान गरियाे । यो केवल जित-हारको प्रतिस्पर्धा मात्र थिएन, बरु आमाहरूको बहुआयामिक व्यक्तित्व र उनीहरूको आफ्नै पहिचानको उत्सव थियो ।
कार्यक्रमलाई सम्बोधनमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द मरासिनीले आमाहरूको भूमिकाको चर्चा गर्दै भन्नुभयो-“आमाहरू केवल सन्तानको रेखदेख गर्ने पात्र मात्र हुनुहुन्न; उहाँहरू त घर र कार्यक्षेत्र दुवैलाई सन्तुलनमा राख्ने कुशल व्यवस्थापक र विद्यालय संस्कृतिको प्रेरक शक्ति हुनुहुन्छ, उहाँहरूको यो उत्साह र प्रतिभालाई सम्मान गर्ने मञ्च प्रदान गर्नु नै वास्तवमा समग्र शैक्षिक र सामाजिक विकासको बलियो आधार हो, आमाहरूमा यो आत्मविश्वासले नै भोलिको पुस्तालाई निडर र सक्षम नागरिक बन्न प्रेरित गर्दछ ।”
त्यसैगरी विद्यालयका प्रबन्ध निर्देशक एवं सस्थापक रामराज पोख्रेलले आमाहरूको सशक्तिकरणले बालबालिकाको सिकाइमा प्रत्यक्ष ऊर्जा थप्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रमको संयोजन नबिना पाण्डे मगरले गर्नुभएको थियो । निर्णायकको रूपमा नृत्य निर्देशक बिश्वास गुरुङ र दिपा राना प्राविधिक पक्षहरूको मूल्याङ्कन गर्नुभएको थियो । कार्यक्रम सञ्चालन सिमरन थापा र ब्युटी रसालले गर्नुभएको थियो । भने स्वागत कोर्डिनेटर माया पौडेलले गर्नुभएको थियो ।
इन्टलेक्चयुअल एकेडेमीले आयोजना गरेको यो कार्यक्रमले एउटा महत्वपूर्ण सन्देश दिएको छ— शिक्षा भनेको किताब मात्र होइन, यो त परिवार र समाजका हरेक सदस्यको क्षमतालाई कदर गर्ने माध्यम पनि हो । घर र कार्यालयको दोहोरो जिम्मेवारी कुशलतापूर्वक निभाउने आमाहरूको आत्मसम्मान र पहिचानलाई सशक्त बनाउने विश्वास गरिएकाे छ । कार्यक्रममा विद्यार्थीहरुले विविध नृत्य, गित, कविता लगाएतका प्रस्तुतिहरु प्रस्तुत गरेका थिए ।