काँग्रेस विशेष महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन : सभापतिमा गगन

1.3K

काँग्रेस विशेष महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन : सभापतिमा गगन

विवादका बीच सम्पन्न नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशनले सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेकाे छ । महाधिवेशनले गगनकुमार थापालाई निर्विरोध केन्द्रीय सभापतिमा चयन गरेको हो । त्यस्तै उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुषाल तथा महामन्त्रीमा प्रदीप पौडेल र गुरु राज घिमिरे निर्विरोध निर्वाचित हुनु भएकाे छ।
समावेशी सिद्धान्तअनुसार विभिन्न समूह र समुदायको प्रतिनिधित्व हुने गरी केन्द्रीय सहमहामन्त्री तथा केन्द्रीय सदस्यहरू चयन गरिएको छ । महिला सहमहामन्त्रीमा डा. डिला संग्रौला पन्त, दलिततर्फ प्रकाश रसाइली ‘स्नेही’, आदिवासी जनजातितर्फ बहादुरसिंह लामा, खसआर्यतर्फ उदय शम्शेर राणा, मधेशीतर्फ मुक्ताकुमारी यादव, मुस्लिमतर्फ फर्मुल्ला मन्सुर, थारुतर्फ योगेन्द्र चौधरी र पिछडिएको क्षेत्रतर्फ कर्णबहादुर बुढालाई चयन गरिएकाे छ ।
त्यसैगरी खुल्ला, महिला, दलित, आदिवासी जनजाति, मधेशी, मुस्लिम, थारु, अपाङ्गता भएका व्यक्ति, अल्पसंख्यक तथा प्रदेशगत कोटाबाट तोकिएकाे संख्यामा केन्द्रीय सदस्यहरू समेत सर्वसम्मत रूपमा चयन भएका छन् ।