नेपाली काँग्रेसको आधिकारिकता विवाद चर्किँदै जाँदा पार्टीका दुवै पक्ष निर्वाचन आयोग पुगेका छन् । आधिकारिकता दाबी गर्दै कागजात बुझाउन पुगेका नेताहरुलाई कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगले संविधान, ऐन र कानुनको परिधिभित्र रहेर विधिसम्मत निर्णय गर्ने बताउनु भएको छ ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा आयोग पुगेको देउवा पक्षीय टोलीले काँग्रेसको वैधानिकतामा कुनै विवाद नरहेको दाबी गर्दै विशेष महाधिवेशनका नाममा भएका गतिविधिलाई पार्टीले नचिन्ने जनाएको छ । उनीहरुले उक्त महाधिवेशन अवैधानिक भएको भन्दै आयोगको ध्यानाकर्षण गराएका हुन् ।
जवाफमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचन आयोग विधि र पद्दतिभन्दा बाहिर गएर कुनै निर्णय नगर्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “निर्वाचन आयोगले संविधान, ऐन र कानुनको परिधिमा रहेर विषयवस्तुको विश्लेषण गर्छ । विधिसम्मत निर्णय नै आयोगको आधार हो । निर्वाचन कार्यतालिका अनुसारका प्रक्रियामा तपाईँहरु सहभागी हुनुहुनेछ भन्ने आयोगको विश्वास छ ।”
यसअघि विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको टोली पनि निर्वाचन आयोग पुगेको थियो । उक्त टोलीले पार्टी विवरण अद्यावधिकका लागि निवेदन दिँदै आगामी निर्वाचनमा पार्टीका उम्मेदवारको मनोनयनपत्रमा विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको हस्ताक्षर रहने लगायतका विषय समावेश गरेको छ ।
गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा काठमाडौंमा पुसको अन्तिम साता विशेष महाधिवेशन सम्पन्न भएको थियो । सो महाधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरी अघि बढेको दाबी गरेको छ । तर देउवा पक्षले उक्त महाधिवेशनलाई अवैधानिक ठहर गर्दै निर्वाचन आयोगमा आधिकारिकता दाबी गरेको हो ।