एकताबद्ध भएर निर्वाचनमा जुट्न अपिल

1.3K

एकताबद्ध भएर निर्वाचनमा जुट्न अपिल

नेपाली काँग्रेस क्षेत्रीय कार्यसमिति, क्षेत्र नं. २ रुपन्देहीले पार्टीभित्र देखिएका मतभेद अन्त्य गर्दै एकताबद्ध भएर आगामी निर्वाचनमा होमिन नेता तथा कार्यकर्तालाई अपिल गरेको छ । क्षेत्रीय कार्यसमितिले जारी गरेको ‘हार्दिक अपिल’ मार्फत हाल देश जटिल राजनीतिक मोडमा रहेको उल्लेख गर्दै लोकतन्त्र र संविधानको रक्षा गर्न काँग्रेसको भूमिका निर्णायक हुने जनाएको छ ।
अपिलमा नेपाली काँग्रेसको विधान अनुसार सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट नयाँ नेतृत्व वैधानिक रूपमा स्थापित भइसकेको र निर्वाचन आयोगले समेत हालको नेतृत्वलाई कानुनी मान्यता दिइसकेको अवस्थामा अब थप विवाद गर्नु उपयुक्त नभएको उल्लेख गरिएकाे छ ।
पार्टीभित्र देखिएका फरक मतलाई आन्तरिक लोकतन्त्रको अभ्यासका रूपमा स्वीकार गरिए पनि अब सबै नेता–कार्यकर्ता एक ढिक्का भई आगामी आम निर्वाचनमा पार्टीको सानदार विजय सुनिश्चित गर्न अग्रसर हुनुपर्नेमा जोड दिइएको छ ।
देश अहिले चुनौतीपूर्ण अवस्थामा रहेको र जनतामा आशा तथा विश्वास पुनःस्थापना गर्नुपर्ने आवश्यकता औंल्याउँदै अपिलमा काँग्रेसको ऐतिहासिक योगदान स्मरण गरिएको छ । लोकतन्त्रका लागि बलिदान दिएका शहीदहरूको सपना साकार पार्न वर्तमान पुस्ताले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै अपिलमा नव–निर्वाचित सभापति गगनकुमार थापा सहित सम्पूर्ण निर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ ।
अपिलपत्रमा क्षेत्रीय सभापति प्रजापाल गिरी, सचिव विमलराज भट्टराई, प्रदेश सभा २(१) का सभापति खड्गबहादुर महत र प्रदेश सभा २(२) का कार्यवाहक सभापति चिन्तामणी भुसालले हस्ताक्षर गर्नुभएकाे छ ।