यहि फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि मौन अवधि सुरु भएको छ । मतदान हुनुभन्दा ४८ घण्टा अघिदेखि लागू हुने प्रावधानअनुसार देशभर चुनावी प्रचारप्रसारका गतिविधि रोकिएका हुन् ।
निर्वाचन आयोगले मौन अवधिमा राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता लगायत सबै सरोकारवालाले तोकिएको आचारसंहिता कडाइका साथ पालना गर्नुपर्ने जनाएको छ ।
आयोगका अनुसार यस अवधिमा कुनै पनि प्रकारका सभा, सम्मेलन, अन्तरक्रिया, जुलुस, प्रदर्शन, कार्यशाला वा गोष्ठी आयोजना गर्न पाइँदैन । बाजागाजा बजाउने, नाचगान गर्ने, सार्वजनिक भोजभतेर गर्ने तथा होहल्ला वा भीडभाड गर्ने कार्य पनि निषेध गरिएको छ ।
त्यस्तै सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचार सामग्री पोस्ट वा शेयर गर्न नपाइने आयोगले स्पष्ट पारेको छ । एसएमएस, साउण्ड सिस्टम वा अन्य कुनै डिजिटल माध्यमबाट मत माग्ने कार्य पनि प्रतिबन्धित छ ।
मतदान हुने दिनको ४८ घण्टा अघिदेखि मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका प्रचार सामग्री हटाउनुपर्ने व्यवस्था छ । साथै मतदान कार्य सुरु हुनुभन्दा तीन घण्टा अघिदेखि मतदान सम्पन्न नभएसम्म मतदाता, मतदान केन्द्रमा खटिएका कर्मचारी वा सुरक्षाकर्मीलाई अवरोध पुर्याउने गतिविधि गर्न नहुने जनाइएको छ ।
मतदान केन्द्र रहेको घर, भवन वा आसपासको क्षेत्रमा शान्ति भंग गर्ने, भय, त्रास सिर्जना गर्ने वा निर्वाचन वातावरण बिथोल्ने कार्य गरे कानुनी कारबाही हुने आयोगले चेतावनी दिएको छ ।