नेकपा (एमाले)की लुम्बिनी प्रदेशसभा सदस्य रेखाकुमारी शर्मा पक्राउ परेकी छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार काठमाडौंको धुम्बाराहीबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार शर्मामाथि एक बालिकालाई घरमा राखी बालश्रम गराएको आरोप लागेको छ । उक्त घटनाबारे अनुसन्धान भइरहेका बेला उनलाई नियन्त्रणमा लिइएको हो ।
यसअघि घटनासम्बन्धी फाइल जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले मुद्दा नचलाउने रायसहित तयार गरी उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालयमा पठाएको थियो ।
बालिकाको उद्दारका क्रममा काठमाडौं महानगरपालिकाको नगर प्रहरी, सम्बन्धित वडाका प्रतिनिधि तथा नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेर मुचुल्का तयार पारेको जनाइएको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।