अदालतकाे आदेशले ओली र लेखक हिरासत मुक्त : अनुसन्धान जारी

1.3K

अदालतकाे आदेशले ओली र लेखक हिरासत मुक्त : अनुसन्धान जारी

चैत १३ गते पक्राउ परेका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा काँग्रेस नेता रमेश लेखक १३ दिनपछि बिहीबार हिरासतबाट मुक्त भएका छन् ।
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत ओलीलाई अस्पतालमै प्रहरीले परिवारको जिम्मा लगाएको थियो भने महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राखिएका लेखकलाई पनि आफन्तको जिम्मा लगाएर छाडिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाका अनुसार दुवैलाई हाजिरी जमानीमा रिहा गरिएको हो । उनीहरूको रिहाइसँगै मुद्दाको प्रक्रिया र अनुसन्धानबारे विभिन्न प्रश्न उठे पनि प्रहरीले अनुसन्धान जारी रहने जनाएको छ । परिसरका एसपी पवनकुमार भट्टराईले अदालतको आदेशअनुसार प्रक्रिया अघि बढाइएको बताए ।
गत चैत २३ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले दिएको आदेशअनुसार २६ गतेभित्र अनुसन्धान टुंग्याउन वा नसके हिरासतमुक्त गर्न निर्देशन दिएको थियो । सोही आदेशका आधारमा अनुसन्धान समयमै नसकिएपछि उनीहरूलाई रिहा गरिएको हो ।
प्रहरीका अनुसार मुद्दासम्बन्धी आवश्यक प्रमाण संकलनको काम जारी रहेकाले तत्काल प्रतिवेदन बुझाउन सम्भव नभएपछि सरकारी वकिल कार्यालयको निर्णयअनुसार रिहाइ प्रक्रिया अघि बढाइएको हो । अब भने दुवै जना हिरासतबाहिर रहेर अनुसन्धान अघि बढाइनेछ ।
यस प्रकरणमा गौरीबहादुर कार्की नेतृत्वको आयोगले बुझाएको प्रतिवेदनका आधारमा उनीहरूमाथि अनुसन्धान गरिएको हो । उक्त प्रतिवेदनमा उनीहरूलाई मुलुकी फौजदारी संहिताअनुसार लापरबाहीका कारण ज्यान गुम्ने घटनामा संलग्न भएको आरोपसहित कारबाही सिफारिस गरिएको थियो ।
प्रहरीका अनुसार घटनासम्बन्धी थप प्रमाण संकलन, बयान तथा पीडित पक्षसँगको सोधपुछको काम निरन्तर जारी रहनेछ ।