दोस्रो सौभाग्य गोल्डकप : सम्पूर्ण युवा क्लब क्वाटरफाइनलमा

1.3K

दोस्रो सौभाग्य गोल्डकप : सम्पूर्ण युवा क्लब क्वाटरफाइनलमा

सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप-२०८२ अन्तर्गत शुक्रबार भएको खेलमा सम्पूर्ण युवा क्लब विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
निक्कै रोमाञ्चक बनेको खेलमा निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि निर्णय पेनाल्टी शुटआउटबाट गरिएको थियो । पेनाल्टीमा सम्पूर्णले ३-० ले फोर ब्रदर्श एफसीलाई पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गर्‍यो ।
सम्पूर्णका विशाल तामा, सुमित मल्ल र मनिष चौधरीले सफल प्रहार गरे । फोर ब्रदर्शका रञ्जित चौधरी र सलिल ढकालको प्रहार बाहिरिँदा आशिष थापाको प्रहार सम्पूर्णका गोलकिपर विशाल सुनारले रोकेका थिए । उत्कृष्ट प्रदर्शन गरेका सुनार ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
प्रतियोगिताअन्तर्गत शनिबार फर्साटिकर एफसी र मोनष्टर गाइज सुनवलबीच प्रतिस्पर्धा हुने आयोजक क्लबका अध्यक्ष सुजु मल्लले जानकारी दिए ।
सिद्धेश्वर खेलमैदानमा जारी प्रतियोगितामा आकर्षक सजावटसहित करिब २ हजार दर्शक क्षमताको अस्थायी प्यारापिट निर्माण गरिएको छ । आयोजकका अनुसार यो रुपन्देहीकै सर्वाधिक पुरस्कार राशिको क्लबस्तरीय प्रतियोगिता हो ।
प्रतियोगिताको विजेताले ५ लाख ५ हजार रुपैयाँ तथा उपविजेताले २ लाख ५५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। विभिन्न विधामा उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई समेत नगद पुरस्कारको व्यवस्था गरिएको सचिव प्रकाश क्षेत्रीले बताए ।
रुपन्देहीसहित चितवन, नवलपरासी र कपिलवस्तुका १२ क्लब सहभागी रहेको प्रतियोगिताको गत संस्करणको उपाधि झरना स्पोर्टिङ क्लबले जितेको थियो ।