आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेदेखि सुरु हुने भएकाे छ । आइतबार बसेकाे मन्त्रिपरिषद् बैठकले शिक्षा क्षेत्रमा समय व्यवस्थापनलाई व्यवस्थित बनाउने उद्देश्यसहित नयाँ शैक्षिक सत्रको मिति तय गरेको हो ।
त्यस्तै शैक्षिक संस्था र सरकारी कार्यालयहरु हप्तामा शनिबार र आइतबार बिदा दिइएकाे छ । सरकारकाे याे निर्णय २०८२ चैत २३ गतेदेखि लागू हुनेछ ।
त्यसैगरी, शैक्षिक संस्थाबाहेक अन्य सरकारी कार्यालयहरूको समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गर्ने निर्णय पनि गरिएको छ ।
सरकारले पेट्रोलियम आपूर्तिमा देखिएको असहजता र ऊर्जा व्यवस्थापनलाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको जनाएको छ । दुई दिन बिदा दिने व्यवस्थाले इन्धन खपत घटाउने, समय व्यवस्थापनमा सुधार ल्याउने र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
नयाँ शैक्षिक सत्र वैशाख १५ देखि सञ्चालनमा आएपछि विद्यालयहरूको वार्षिक कार्यतालिका पनि सोहीअनुसार समायोजन गरिनेछ ।