सिद्धार्थ गौतम बुद्ध क्याम्पस को ३४औँ वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न भएको छ । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत खेलकुद प्रतियोगिताका विजेता, उत्कृष्ट विद्यार्थी तथा शिक्षक सम्मान र शुभकामना आदानप्रदान गर्दै सोमबार कार्यक्रम समापन गरिएको हो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले क्याम्पस स्थापना कालको स्मरण गर्दै शैक्षिक व्यक्तित्वहरूको पहलमा समुदायस्तरबाट सञ्चालनमा आएको संस्थाले महत्वपूर्ण योगदान दिएको बताए । उनले शिक्षासँगै संस्कार, खेलकुद र व्यवहारिक शिक्षामा जोड दिन आवश्यक रहेको उल्लेख गरे । स्थानीय तहबाट शिक्षामा उल्लेख्य बजेट विनियोजन भइरहेको र त्यसले शैक्षिक संस्थालाई थप मजबुत बनाएको उनको भनाइ थियो ।
क्याम्पस प्रमुख गोपाल चापागाईले समुदायको सहकार्यमा गुणस्तरीय शिक्षा प्रदान गर्दै सामुदायिक क्याम्पसमध्ये उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताए । उनले
क्याम्पस टेक्नाेलाेजी फ्रेण्ड्ली बनाउन अग्रसर भएकाे र आगामी वर्षसम्म विद्यार्थीकाे हाजिरी, परीक्षा नतिजा लगायतका कुराहरु अभिभावककाे माेवाइलमा जाने व्यवस्था मिलाईने दावी गरे । समयसापेक्ष शैक्षिक कार्यक्रम थप गर्दै डिजिटलाईमा जाने र शैक्षिक कार्यक्रमलाई पेपरलेस बनाउन खाेजिएकाे समेत बताए ।
वार्षिकोत्सवका अवसरमा अवकाशप्राप्त प्राध्यापक रमेशचन्द्र पाण्डे र कर्मचारी सत्यनारायण चौधरीलाई सम्मान गरिएको थियो । साथै वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पुरस्कार र सम्मानपत्र प्रदान गरिएको छ । कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष निर्मलप्रसाद लाकौलकाे अध्यक्षतामा भएकाे कार्यक्रममा बुटवल ५ का वडा अध्यक्ष तथा क्याम्पस व्यवस्थापन समितिका सदस्य हरिप्रसाद श्रेष्ठले शिक्षासँगै खेलकुदमा क्याम्पसको सक्रियता प्रशंसनीय रहेको बताए । कार्यक्रममा, सहायक क्याम्पस प्रमुख कृष्णप्रसाद खनाल, सहायक क्याम्पस प्रमुख रामनाथ उपाध्याय, पब्लिक क्याम्पस प्राध्यापक संघका अध्यक्ष श्रीवत्स नेपाललगायतले क्याम्पस समयको माग अनुसार अगाडि बढेकाे र पूर्वाधार सहित बजारमा विक्ने जनशक्ति उत्पादनका लागि समयसापेक्ष ल्याउन आवश्यक देखिएकाे उल्लेख गरेका थिए ।
क्याम्पसमा हाल १ हजार ९३५ विद्यार्थी अध्ययनरत छन् । यहाँ व्यवस्थापन र शिक्षा विषयमा कक्षा ११ देखि स्नातकोत्तर तहसम्म अध्ययन अध्यापन हुँदै आएको छ ।
