नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दै जाँदा निगमलाई ठूलो घाटा व्यहोर्नु परेकाले नयाँ मूल्य समायोजन गरिएको जनाएको छ ।
नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ तथा डिजेल/मट्टितेलमा २५ रुपैयाँ वृद्धि गरिएको छ । यससँगै पेट्रोलको मूल्य विभिन्न क्षेत्रमा २१६.५० देखि २१९ रुपैयाँसम्म पुगेको छ भने डिजेल/मट्टितेल २०४.५० देखि २०७ रुपैयाँसम्म कायम गरिएको छ ।
त्यस्तै, खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर १ सय रुपैयाँ वृद्धि गरिएको छ । अब १४.२ केजी ग्यासको मूल्य २ हजार १० रुपैयाँ पुगेको छ । हवाई इन्धन (आन्तरिक) मा पनि प्रतिलिटर ६ रुपैयाँ वृद्धि गरिएको निगमले जनाएको छ ।
निगमका अनुसार भन्सार महसुल र पूर्वाधार विकास कर समायोजनपछि पनि पाक्षिक रूपमा करिब १० अर्ब २१ करोड रुपैयाँ घाटा रहेको छ । हाल पेट्रोलमा प्रतिलिटर १६.६५ रुपैयाँ, डिजेलमा १०९.५० रुपैयाँ तथा ग्यासमा प्रति सिलिण्डर ४१६.३७ रुपैयाँ घाटा रहेको उल्लेख गरिएको छ ।
मूल्य वृद्धि गरेपछि पनि निगमलाई अझै करिब ७ अर्ब ८१ करोड रुपैयाँ घाटा हुने प्रक्षेपण गरिएको छफ। घाटा निरन्तर बढेमा आपूर्ति व्यवस्थापनमा समस्या आउन सक्ने भन्दै निगमले उपभोक्तालाई मितव्ययी रूपमा इन्धन प्रयोग गर्न आग्रह गरेको छ ।