श्रममन्त्री साह पदमुक्त : स्वास्थ्यमन्त्री मेहतालाई सचेत

1.3K

श्रममन्त्री साह पदमुक्त : स्वास्थ्यमन्त्री मेहतालाई सचेत


श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साह पदमुक्त भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिस अनुसार प्रधानमन्त्री बालेन शाहले साहलाई मन्त्री पदबाट हटाएका हुन् ।
रास्वपा सभापति रवि लामिछानेले मन्त्री साहले पदीय मर्यादाको दुरुपयोग गर्दै आफ्नी पत्नीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डमा संलग्न गराएको आरोपसहित कारबाहीका लागि प्रधानमन्त्रीसमक्ष सिफारिस गरेका थिए ।
यसअघि रास्वपाको केन्द्रीय अनुशासन आयोगले पनि उक्त विषयमा अध्ययन गरी साहमाथि कारबाही गर्नुपर्ने निष्कर्षसहित प्रतिवेदन पार्टीलाई बुझाएको थियो । उक्त गतिविधिबाट पार्टीको छवि, आदर्श र मर्यादामा गम्भीर असर पर्ने ठहरसहित सभापति लामिछानेले आयोगको प्रतिवेदनसमेत प्रधानमन्त्रीसमक्ष पेश गरेका थिए ।
रास्वपाले पार्टी विधानअनुसार पदको दुरुपयोग भएको अवस्थामा जिम्मेवारीबाट फिर्ता बोलाउने (राइट टु रिकल) व्यवस्था रहेकाले साहलाई तत्काल पदमुक्त गर्न सिफारिस गरेको जनाएको छ ।
यसैबीच, उक्त प्रकरणमा अपेक्षित गम्भीरता नदेखाएको भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई पनि सचेत गराइएको छ । रास्वपा सभापति लामिछानेको सिफारिसका आधारमा प्रधानमन्त्री शाहले मन्त्री मेहतालाई सचेत गराएका हुन ।