घातक इबोला भाइरस र नेपालमा यसको जोखिम ?

1.3K

घातक इबोला भाइरस र नेपालमा यसको जोखिम ?

अफ्रिकी मुलुक कंगोमा फैलिरहेको बुन्डीबुग्यो इबोला भाइरसका कारण विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेपछि विश्वभर पुनः इबोलाको त्रास बढेको छ । कंगोसँगै छिमेकी युगान्डासम्म संक्रमण फैलिसकेको र अन्य देशहरू पनि सतर्क बनेका छन् । सन् २०१४–१५ मा पश्चिम अफ्रिकामा फैलिएको इबोला महामारीले हजारौं मानिसको ज्यान लिएको थियो । अहिले देखिएको बुन्डीबुग्यो प्रजातिलाई पनि निकै गम्भीर रूपमा हेरिएको छ ।
विशेषज्ञहरूका अनुसार इबोला अत्यन्त घातक भाइरस भए पनि यो कोभिड–१९ जस्तो हावाबाट सर्ने रोग होइन । संक्रमित व्यक्तिको शरीरका तरल पदार्थसँग प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्क हुँदा मात्र संक्रमण फैलिने भएकाले सावधानी अपनाए नियन्त्रण सम्भव हुने चिकित्सकहरूको भनाइ छ ।
संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार बुन्डीबुग्यो इबोला भाइरस इबोलाका प्रमुख प्रजातिमध्ये एक हो । यसको मृत्युदर औसत ४० प्रतिशतसम्म देखिएको छ भने समग्र इबोलाको मृत्युदर करिब ५० प्रतिशतसम्म पुग्ने गरेको छ । सुरुआती लक्षण सामान्य ज्वरो, टाइफाइड वा मलेरियासँग मिल्दोजुल्दो हुने भएकाले पहिचानमा कठिनाइ हुन सक्छ । ज्वरो आउने, शरीर दुख्ने, अत्यधिक थकान, घाँटी दुख्ने र कमजोरी महसुस हुने जस्ता लक्षण देखिनुकार साथै रक्तस्रावसम्बन्धी गम्भीर समस्या पनि हुन सक्छ ।
इबोला संक्रमित व्यक्तिको रगत, पसिना, थुक, वान्ता, पिसाब, दिसा वा अन्य शरीरका तरल पदार्थबाट सर्ने गर्छ । संक्रमित व्यक्तिले प्रयोग गरेका सामग्रीबाट समेत संक्रमण फैलिन सक्छ । तर लक्षण देखिएपछि मात्र संक्रमितले अरूलाई सार्ने भएकाले समयमै पहिचान र आइसोलेसन गर्न सकियो भने संक्रमण नियन्त्रण सम्भव हुने विज्ञहरूको भनाइ छ ।
नेपालमा तत्काल उच्च जोखिम नरहे पनि जोखिम पूर्ण रूपमा टरेको भने छैन । अफ्रिकी देशहरूसँग नेपालीहरूको आवतजावत, शान्ति मिसनमा जाने सुरक्षाकर्मी तथा पर्यटकहरूको संख्या बढ्दो भएकाले संक्रमण अप्रत्यक्ष रूपमा नेपाल आइपुग्न सक्ने सम्भावना रहेको चिकित्सकहरू बताउँछन् । मंकीपक्स अफ्रिकाबाट नेपालसम्म पुगेको उदाहरणले पनि सतर्क रहनुपर्ने देखाएको छ ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारीका अनुसार सरकारले निगरानी संयन्त्र सक्रिय बनाइसकेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ज्वरो परीक्षण र स्वास्थ्य जाँचको व्यवस्था गरिएको छ भने शंकास्पद व्यक्तिलाई तुरुन्त आइसोलेसनमा राख्ने तयारी गरिएको छ । प्रयोगशालाहरूलाई परीक्षणका लागि तयारी अवस्थामा राखिएको र द्रुत प्रतिकारक टोली पनि सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।
संक्रामक रोग विशेषज्ञ अनुप सुवेदीका अनुसार अहिले देखिएको बुन्डीबुग्यो प्रजातिका लागि पूर्ण रूपमा प्रभावकारी खोप वा विशेष औषधि उपलब्ध नभएकाले विश्व स्वास्थ्य संगठनले यसलाई गम्भीर रूपमा लिएको हो । अहिले आत्तिनुभन्दा सतर्कता, सरसफाइ र सही सूचना महत्वपूर्ण छ । नियमित हात धुने, प्रभावित क्षेत्रबाट आएका व्यक्तिमा लक्षण देखिए तुरुन्त स्वास्थ्य संस्थामा जानकारी दिने तथा आधिकारिक सूचनामा मात्र विश्वास गर्न विशेषज्ञहरूले आग्रह गरेका छन् ।