संविधानकाे व्यवहारिक कार्यान्वयन गराैं : राष्ट्रपति पौडेल

1.3K

संविधानकाे व्यवहारिक कार्यान्वयन गराैं : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले सुनिश्चित गरेका अधिकार, लोकतन्त्र, सामाजिक न्याय र समृद्धिलाई नागरिकको जीवनमा अनुभूति हुने गरी कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ का अवसरमा राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले संविधान कागजमा लेखिएका शब्दको दस्ताबेज मात्र नभई नागरिकका सपना, आशा, अपेक्षा र अधिकारको साझा प्रतिज्ञा भएको बताए ।
राष्ट्रपति पौडेलले राज्य नागरिकको आर्तनादसँगै उभिने, सरकार नागरिकको सेवक बन्ने र न्याय राज्यको मूल ध्येय बन्ने अवस्था सिर्जना गर्नुपर्ने बताए । जनउत्तरदायी, पारदर्शी र परिणाममुखी शासन तथा नागरिक सर्वोच्चता स्थापित भएमा मात्रै संविधानका वाचा व्यवहारमा कार्यान्वयन हुने उनको भनाइ थियो ।
उनले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र राज्यलाई जनताप्रति जवाफदेही बनाउने संस्कार विकास गर्नुपर्नेमा जोड दिए । “आज हामी संविधानलाई भाषणमा होइन, नागरिकको जीवनमा उतार्ने सङ्कल्प गरौँ,” उनले भने ।
राजनीतिक परिवर्तनलाई नागरिकको जीवनसँग जोड्न व्यवहारमै सुशासन र उत्कृष्ट सेवा प्रवाह आवश्यक रहेको उनले बताए । शासकीय संरचनामा आउने परिवर्तनले मात्र युगका अपेक्षा पूरा नहुने भन्दै राज्यसत्ताको चरित्र, राजनीतिक निष्ठा र मूल्यमान्यतामा समेत परिवर्तन आवश्यक रहेको उनको भनाइ थियो ।
संविधानले संघीयता, समावेशिता, बहुलवाद र नागरिक स्वतन्त्रतासहित महत्वपूर्ण उपलब्धि संस्थागत गरेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले संघीयतालाई देश विकासको अनिवार्य तहका रूपमा अघि बढाउनुपर्ने बताए ।
यस वर्ष संविधान दिवस मनाइरहँदा मुलुक प्राकृतिक विपत्तिको पीडामा रहेको उल्लेख गर्दै उनले बाढी तथा अन्य विपत्तिमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरे । घाइतेको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ताको खोजी र पहिचानमा जोड दिँदै उनले विपद्पछिको पुनर्निर्माणमा भौतिक संरचनासँगै विस्थापित परिवारका सपना र भविष्यसमेत फर्काउनुपर्ने बताए ।
जलवायु परिवर्तनका चुनौतीबीच विकासका ढाँचालाई मानवीय, न्यायपूर्ण र प्रकृतिमैत्री बनाउनुपर्ने उनले बताए ।
राष्ट्रपति पौडेलले संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि जीवन आहुति दिने सहिद, आन्दोलनका क्रममा कष्ट र यातना सहने लोकतन्त्रका योद्धा तथा आन्दोलनका अग्रज नेताप्रति सम्मान व्यक्त गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा संविधान दिवसको शुभकामना दिएका छन् ।