बुटवलमा लुम्बिनीका युवा उद्यमीका उत्पादनकाे प्रदर्शनी : दाङकाे अल्लाे उद्याेग उत्कृष्ट

1.3K

बुटवलमा लुम्बिनीका युवा उद्यमीका उत्पादनकाे प्रदर्शनी : दाङकाे अल्लाे उद्याेग उत्कृष्ट

नेपाल सरकार युवा, श्रम तथा रोजगार मन्त्रालय राष्ट्रिय युवा परिषदले घाेराहिकी वलीलाई प्रोत्साहन रुवरुप ४० हजार रुपैंया नगद पुरस्कार प्रदान गरेको छ । राष्ट्रिय युवा परिषदले मंगलबार बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा आयोजना गरेको लुम्बिनी प्रदेश स्तरीय युवाबाट उत्पादित सूचना प्रविधि तथा स्टार्ट अप व्यवसाय प्रदर्शनीमा सर्बोत्कृष्ट युनिक दिदी बहिनी अल्लाे उद्याेगकी सञ्चालक वलीलाई प्रोत्साहन स्वरुप ४० हजार रुपैंया नगद पुरस्कार प्रदान गरेको हो ।
उक्त प्रदर्शनीमा पहिलो चरणमा छनौटमा परेका १५ वटा युवा व्यवसायीका उत्पादन प्रदर्शनमा राखिएको थियो । यो कार्यक्रमका लागि २५ जना युवा उद्यमीले अनलाईन आवेदन भरेका थिए ।
प्रदर्शनीमा सहभागि बाणगंगा कपिलबस्तुकाे प्रदिप प्रिन्टिङ वल्डका सञ्चालक प्रदिप चाैधरीलाई ३० हजार रुपैंया, सुनवल नवलपरासीकाे कृष्ण एकीकृत माैरी तथा कृषि फर्मकी सञ्चालक लक्ष्मी अधिकारीलाई २० हजार रुपैंया तथा तिलाेत्तमा रुपन्देहीकाे ङाेल्स्यु घरेलु ढाका उद्याेका सञ्चालक प्रथम गुरुङ र मलाङ्काेड इन्नाेभेटर्स प्रालि नेपालगञ्जका माेहम्मद रहिश सेखलाई जनही १० हजार रुपैंया प्रोत्साहन स्वरुप नगद प्रदान गरिएको राष्ट्रिय युवा परिषदका प्रशासकीय प्रमुख गेहनाथ गौतमले जानकारी दिए ।
उनका अनुसार प्रदर्शनीमा राखिएका स्टलहरुको मुल्यांकलन समितिले गरेको मुल्यांकनका आधारमा ५ जना उत्कृष्ट उद्यमीलाई प्रोत्साहन स्वरुप नगर पुरस्कार प्रदान गरिएको हो । त्यसबाहेक प्रदर्शनीमा सहभागि १५ वटै उद्यमीलाई व्यवस्थापन खर्चका रुपमा जनही १० हजार रुपैंया प्रदान गरिएको पनि उनले बताए ।
प्रदर्शनीको उद्घाटन कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले स्वदेशी उत्पादनमा जोड दिँदै स्थानीय उत्पादनका लागि लगानी, उत्पादन, बजार लगायतका कुराहरुको सुनिश्चिता आवश्यक रहेको बताए । उनले लगानी र बजारको अभावमा नगरपालिकाले सञ्चालन गरेका सीपयुक्त तालिम, स्वरोजगार कार्यक्रम लगायतका कार्यक्रमले पनि मुर्त रुप लिन नसकेको बताउँदै युवा उद्यमीलाई कसरी सुरक्षित गर्न सकिन्छ, उनीहरुको आवश्यक र सहि बस्तुको उत्पादन र आवश्यक लगानी व्यवस्थापन र उत्पादित बस्तुको बजार सुनिश्चितताको लागि तीन तहका सरकारले जिम्मेवारी बोध गर्नुपर्ने भनाई राखे ।

नेपाल उद्योग वाणिज्य महासंघका लुम्बिनी प्रदेश अध्यक्ष ठाकुरकुमार श्रेष्ठले देशको औद्योगिक विकास र आर्थिक सुदृढिकरणका लागि उद्यमशिलता विकास अपरिहार्य रहेको बताए । उनले देशको आर्थिक तथा रोजगारीको स्थिती सुधारका लागि यस्ता कार्यक्रम महत्वपूण रहेको बताउँदै कार्यक्रमलाई अझै सुधार गर्न आवश्यक रहेको भनाई राखे । उनले उद्योग वाणिज्य संघ लगायतका निजी क्षेत्रका संस्थाहरुले उद्यमशिलता विकासका कार्यक्रमहरु सञ्चालन गर्दै आएकाले निजी क्षेत्रसंगको समन्वय र सहकार्यले यसलाई अझै राम्रो बनाउन सकिने धारणा राखे ।
त्यसैगरी बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य हरिप्रसाद अर्यालले उद्यमशिलता विकासका लागि संघले विजनेश इन्कुवेशन, व्यवसायिक प्रवद्र्धन कार्यक्रम लगायतका तालिम कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएको र ती कार्यक्रमका माध्यमबाट स्थापित उद्यमीका उत्पादनलाई समेत प्रदर्शनीमा सहभागि गराउने गरी कार्यक्रम तय भएको भए अझै सुनमा सुगन्ध हुने बताए । उनले आगामी दिनमा यस्ता कार्यक्रममा संघसंग समन्वय र सहकार्यमा समेत जोड दिए ।
राष्ट्रिय युवा परिषदले १६ देखि ४० वर्ष उमेर समुहका युवामा उद्यमशिलता विकास गर्न विगतदेखि नै यस्ता कार्यक्रम गर्दै आएको र त्यसैको निरन्तरता स्वरुप यो कार्यक्रम गरिएको परिषदका विशाल रोकाले बताए । उनका अनुसार परिषदले हालै बुटवल सहित गण्डकी, कर्णाली, बागमतीमा प्रदर्शनी गरिसकिएको छ । त्यस्तै अब सुदुरपश्चिम, कोशी र मधेशमा पनि कार्यक्रम गरिने उनले बताए ।