नेपाल मेडिकल काउन्सिलले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड तथा चिकित्सकहरूको कानुनी दायित्व सम्बन्धमा चिकित्सक र स्वास्थ्य संस्थाहरूलाई सचेत गराउँदै मापदण्डविपरीत सेवा सञ्चालन नगर्न चेतावनी दिएको छ ।
काउन्सिलले बिहीबार जारी गरेको सूचनामा केही स्वास्थ्य संस्थाले स्वीकृत बेड क्षमता, सेवा तथा सञ्चालन अनुमतिभन्दा बाहिर गएर सेवा सञ्चालन गरिरहेको र त्यस्ता संस्थामा कार्यरत चिकित्सकहरूले समेत संस्थाको वास्तविक अवस्थाबारे जानकारी नलिई सेवा प्रदान गरिरहेको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सूचनामा जनस्वास्थ्य सेवा ऐन, २०७५ तथा स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ विपरीत सञ्चालन भएका स्वास्थ्य संस्थाले कानुनी कारबाहीको सामना गर्नुपर्ने उल्लेख गरिएको छ । ऐन अनुसार आवश्यक सञ्चालन अनुमति नलिई कुनै पनि स्वास्थ्य सेवा सञ्चालन गर्न नपाइने तथा उल्लङ्घन गर्ने संस्थाको इजाजतपत्र स्वतः खारेज हुन सक्ने व्यवस्था रहेको काउन्सिलले स्मरण गराएको छ ।
काउन्सिलले कानुनविपरीत सञ्चालन भइरहेका संस्थामा कार्यरत चिकित्सकहरू स्वयं पनि कानुनी जोखिम र नैतिक जवाफदेहितामा पर्न सक्ने चेतावनी दिएको छ ।
सबै दर्तावाला चिकित्सकलाई सम्बोधन गर्दै काउन्सिलले अस्पताल वा स्वास्थ्य संस्थामा आबद्ध हुनुअघि स्वीकृत बेड संख्या, सञ्चालन अनुमति पत्र र स्वीकृत सेवाको विवरण अनिवार्य रूपमा बुझ्न आग्रह गरेको छ । साथै नियुक्ति लिनुअघि संस्थाको अद्यावधिक नवीकरण प्रमाणपत्र तथा स्वीकृत सेवासम्बन्धी जानकारी लिन र मापदण्डविपरीत गतिविधि भएमा त्यसमा संलग्न नहुन सुझाव दिएको छ ।
काउन्सिलका निमित्त रजिष्ट्रार डा. दीपेन्द्र पाण्डेद्वारा हस्ताक्षरित सूचनामा स्वास्थ्य क्षेत्रलाई व्यवस्थित, मर्यादित र कानुनसम्मत बनाउन सबै चिकित्सक र स्वास्थ्य संस्थाको सहयोग आवश्यक रहेको उल्लेख गरिएको छ ।