बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको यहि असोज २३ देखि २६ गतेसम्म ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधिवेशन हुँदैछ । उक्त अधिवेशनमा लागि निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ ।
संघको निर्वाचन समितिले सार्वजनिक गरेको कार्यक्रमअनुसार असोज २६ गते मतदान हुने छ । मतदान बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान सञ्चालन हुने प्रमुख निर्वाचन अधिकृत बाबुराम पाण्डेले जानकारी दिए । निर्वाचनका लागि पहिलोपटक असोज १५ गते नै मतदाता नामावली प्रकाशन गरिसकिएको छ । मतदाता नामावलीमाथि दाबी–विरोध गर्ने समय असोज २१ गते दिउँसो ३ बजेसम्म तोकिएको छ भने सोही दिन दिउँसो साढे ३ बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ ।
त्यस्तै अधिवेशन अन्तरगत निर्वाचन कार्यतालिका अनुसार असोज २३ गते साधारण सभाको दिन साँझ ५ बजे देखि ६ बजेसम्म मनोनयन पत्र वितरण गरिने छ । ६ देखि ७ बजेसम्म मनोनयन पत्र दाखिला गर्नुपर्नेछ । त्यसैदिन साँझ ८ बजे उम्मेद्वारको प्रथम नामावली प्रकाशन गरिनेछ । उम्मेद्वार उपर दावि विरोधका लागि असोज २४ गते विहान ८ देखि ९ बजेको समय तोकिएको छ । त्यसैगरी सोही दिन बिहान ११ बजेसम्म उम्मेद्वारले आफ्नो उम्मेद्वारी फिर्ता लिन सक्नेछन् । त्यसैदिन साढे ११ बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिनेछ । एक पदमा एक जना भन्दा बढीको उम्मेदवारी परेमा उम्मेद्वारको अन्तिम नामावली र मतपत्रमा समेत अंग्रेजी अल्फावेट अनुसार नाम राखिने निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिले असोज २६ गते बिहान ८ देखि साँझ ५ बजेसम्म मतदानको समय निर्धारण गरेको छ । विशेष वरिस्थितीमा निर्वाचन कार्यक्रम संशोधन गर्न सकिने पनि निर्वाचन समितिले जनाएको छ ।
अधिवेशनमा संघको आगामी कार्यकालका लागि पदाधिकारीमा अध्यक्ष सहित वरिष्ठ उपाध्यक्ष, उद्योग उपाध्यक्ष, वाणिज्य उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सचिव, सहकोषाध्यक्ष पदमा निर्वाचन हुनेछ । त्यस्तै कार्यसमिति सदस्य पदमा उद्योगबाट ४, वाणिज्यबाट ४, महिला २ तथा खुल्लाबाट ७ गरि १७ जना निर्वाचित हुने वैधानिक व्यवस्था छ ।
निर्वाचनमा उम्मेद्वारी दिनका लागि शुल्क समेत निर्धारण गरिएको छ । प्रमुख निर्वाचन अधिकृत बाबुराम पाण्डेका अनुसार उम्मेद्वारी शुल्क फिर्ता नहुने गरि अध्यक्ष पदका लागि १ लाख रुपैयाँ, पदाधिकारीका लागि ५० हजार रुपैंया, एसोसिएट सदस्यका लागि ४० हजार रुपैयाँ र सदस्य पदका लागि २५ हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकिएको छ ।