नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि विभिन्न पदमा उम्मेदवारी दर्ता भएको छ । निर्वाचन समितिले उम्मेदवारहरूको प्रथम नामावली सार्वजनिक गरेको छ ।
कांग्रेसको विधानअनुसार सभापति एक, वरिष्ठ उपसभापति एक, उपसभापति चार, महामन्त्री तीन, सहमहामन्त्री १५ र कोषाध्यक्ष एक गरी २४ पदाधिकारी रहने व्यवस्था छ । तीमध्ये सहमहामन्त्रीका चार र कोषाध्यक्ष एक जना सभापतिबाट मनोनीत हुने भएकाले निर्वाचनबाट १९ जना पदाधिकारी चयन हुनेछन् ।
निर्वाचन समितिले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार निर्वाचित हुने १९ पदाधिकारीका लागि ७९ जनाको उम्मेदवारी परेको छ ।
पार्टीको सर्वोच्च कार्यकारी पद सभापतिका लागि तीन जनाले उम्मेदवारी दिएका छन् । सभापतिमा गगनकुमार थापा, किशोरसिंह राठौर र श्यामकृष्ण खड्गी उम्मेदवार बनेका छन् ।
वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्माको मात्रै उम्मेदवारी परेको छ । त्यस्तै महिला उपसभापतिमा पुष्पा भुसालको एकल उम्मेदवारी परेको छ ।
खुला उपसभापतिमा नौ जनाकाे उम्मेदवारी परेकाे छ । खुला उपसभापतिका लागि डा. चन्द्र भण्डारी, देवराज चालिसे, सुरेन्द्रराज पाण्डे, मधु आचार्य, डा. मिनेन्द्र रिजाल, दीपक गिरी, धनराज गुरुङ, गोविन्द भट्टराई र डा. चन्द्रमोहन यादवले उम्मेदवारी दिएका छन् ।
समावेशी उपसभापतिमा जीवन परियार, विनोद चौधरी, फर्मुल्लाह मन्सुर, सीता गुरुङ र रञ्जित कर्ण गरी पाँच जनाको उम्मेदवारी परेको छ ।
खुला २ महामन्त्री पदमा ११ जनाकाे उम्मेदवारी परेकाे छ । महामन्त्री पदमा प्रदीप पौडेल, गुरुराज घिमिरे, उदयशमशेर राणा, अमरसिंह पुन, नैनसिंह महर, शंकर तिवारी, डा. सुनिल शर्मा, डा. सन्तोष उपाध्यायलगायतले उम्मेदवारी दिएका छन् ।
महिला महामन्त्री पदमा डा. डिला संग्रौला, महालक्ष्मी उपाध्याय ‘डिना’ र रिता खनाल उम्मेदवार बनेका छन् ।
सहमहामन्त्रीका विभिन्न समावेशी तथा खुला क्लस्टरमा समेत उम्मेदवारी परेको छ । सार्वजनिक विवरणअनुसार महिला, खुला, पिछडिएको क्षेत्र, खसआर्य, आदिवासी जनजाति, थारू, अल्पसंख्यक, मुस्लिम, मधेसी र दलितलगायतका क्लस्टरमा उम्मेदवारी परेको छ ।
निर्वाचन समितिले सार्वजनिक गरेको प्रथम नामावलीमाथि कुनै दाबी-विरोध भए दाबी-विरोध दर्ता गर्न आज बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्मको समय तोकेको छ । दाबी–विरोधपछि उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक हुनेछ ।