अन्तर्राष्ट्रिय लेखा दिवस २०२६ को अवसरमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (एक्यान), बुटवल शाखाले विभिन्न कार्यक्रम गरी लेखा सप्ताह मनाउने भएको छ । ‘हरेक कुरामा लेखा आवश्यक छ’ भन्ने नारासहित शाखाले विभिन्न कार्यक्रम आयोजना गर्न लागेको हो । कार्यक्रमअन्तर्गत लेखाका महत्वमाथी प्रकाश पार्दै मंगलबार पत्रकार सम्मेलन गरि कार्यक्रमको बारेमा जानकारी गराईएको छ ।
कार्यक्रममार्फत विद्यार्थीमा वित्तीय साक्षरता बढाउने, युवालाई लेखा पेशाप्रति आकर्षित गर्ने तथा व्यवसायी र सर्वसाधारणलाई यसको व्यावहारिक महत्वबारे सचेत गराइनेछ । कार्यक्रम अन्तरगत भोली कात्तिक १८ गते बुधबार बिहान बुटवलमा जनचेतनामुलक कार्यक्रम गरिनेछ ।
उक्त जनचेतनामुलक कार्यक्रममा सहभागिताको लागि आम उद्योगी, व्यवसायी, विद्यार्थी, लेखक पत्रकारहरुलाई आह्वान गरिएको छ । त्यस्तै यहि कात्तिक १९ गते भर्चुअल बैठक गरिने नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था बुटवल शाखाका संयोजक प्रमोद पन्थीले जानकारी दिए । उनका अनुसार उक्त बैठकमा लेखा पेशाकर्मी, विद्यार्थी तथा सरोकारवालाबीच लेखा व्यवसायको विकास, चुनौती, अवसर र वित्तीय साक्षरताबारे छलफल गरिनेछ ।
लेखा व्यक्ति, परिवार, व्यवसाय र राज्यको आर्थिक व्यवस्थापनसँग जोडिएको विषय भएकाले यसको आवश्यकता दैनिक जीवनदेखि समग्र आर्थिक विकाससम्म रहेको छ । शाखाले लेखालाई आम्दानी र खर्चको अभिलेखमा मात्र सीमित नराखी आर्थिक पारदर्शिता, जवाफदेहिता र जिम्मेवार व्यवस्थापनको आधारका रूपमा स्थापित गर्ने उद्देश्य राखिएको संयोजक पन्थीले बताए ।
कार्यक्रममा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (एक्यान), बुटवल शाखाका पूर्व संयोजक शिवहरी शर्मा, अडानका लुम्बिनी प्रदेश सभापति टुकराज शर्मा, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एकयान)का लुम्बिनी प्रदेश संयोजक शंकर अर्याल, रुपन्देही सभापति कमल ज्ञवाली, लेखा व्यवसायीहरु विष्णुप्रसाद पन्थी, नेत्रप्रसाद ज्ञवाली, अच्युत पाण्डे लगायतले लेखा प्रणालीको महत्व, लेखा व्यवसायीका काम कर्तव्य र अधिकार लगायतका विषयमा धारणा राखेका थिए । उनीहरुले पछिल्लो समय एआई लगायतका प्रविधिका कारण लेखा प्रणाली र लेखा व्यवसायमा समेत समस्या सिर्जना भएको औंल्याउँदै समयसापेक्ष आफूहरुको क्षमता विकासमा जोड दिएका थिए ।