देश बिचाैलियाकाे प्रभावमा चल्नु दुखद् : डा. चन्द्र भण्डारी

1.3K

देश बिचाैलियाकाे प्रभावमा चल्नु दुखद् : डा. चन्द्र भण्डारी

नेपाली काँग्रेसका केन्द्रीय उपसभापति डा. चन्द्र भण्डारीले देश बिचाैलियाहरुकाे प्रभावबाट चल्ने कुरा दु:खद भएकाे बताएका छन् । उनले पछिल्लो ३५ वर्षमा देशमा उल्लेख्य विकास पूर्वाधार निर्माण भएको उल्लेख गर्दै विगतमा केही कामै भएन भन्ने भाष्य गलत भएको बताए ।
देशका नेताहरूले शासन चलाइरहेका छन् भन्ने ठानिए पनि दीपक भट्ट र इनम सापकोटाजस्ता व्यक्तिहरूको प्रभावमा देश चलेको देखिएको उनको टिप्पणी छ ।
उनले पार्टीभित्रको गुटबन्दी र परिवारवाद अन्त्य गर्दै एकताबद्ध काँग्रेस निर्माण गर्नुपर्ने बताएका छन् । उनले पार्टीहरूबीच पनि सहकार्य आवश्यक रहेको भन्दै काँग्रेस मिल्नुको विकल्प नभएको बताए ।
नेपाली काँग्रेस क्षेत्र नं. २, रुपन्देहीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उपसभापति भण्डारीले वर्तमान सरकार पाँच वर्ष नै चलोस् भन्ने आफ्नो चाहना रहेको बताए । सरकारले पर्याप्त सहयोग पाउँदासमेत अनावश्यक काममा अल्झिएको टिप्पणी गर्दै उनले सरकारलाई जनअपेक्षाअनुसार काम गर्न सुझाव दिए ।
‘पार्टी नमिली सुखै छैन, पार्टी मिल्छ, हामी मिलाउँछौँ,’ उनले भने । अब काँग्रेसमा परिवारवाद र गुटगत अवसरवादको अन्त्य हुने दाबी गर्दै उनले पार्टीलाई नयाँ ढंगले अघि बढाउने बताए ।
क्षेत्रीय सभापति प्रजापाल गिरिकाे अध्यक्षतामा भएकाे कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्यहरू बालकुमारी भण्डारी र सुशील गुरुङ, लुम्बिनी प्रदेश उपसभापति भुवन श्रेष्ठ तथा कोषाध्यक्ष प्रकाश राना, रुपन्देहीका सभापति रामकृष्ण खाणले सरकारका गतिविधिका कारण काँग्रेस मात्रै नभई मुलुकको लोकतन्त्र नै खतरामा परेको बताए । लोकतान्त्रिक मूल्य र मान्यताको रक्षाका लागि काँग्रेस एकताबद्ध भएर अघि बढ्नुपर्ने उनीहरुको भनाइ थियो । कार्यक्रम क्षेत्रीय सचिव छाया पाेखरेलकाे सञ्चालनमा भएकाे थियाे ।