नेपाली काँग्रेस रुपन्देहीको पार्टी कार्यालय स्वास्थ्यकर्मी आवासको लागि प्रयोग गरिएको छ । कोरोना भाईरस संक्रमितको उपचारको लागि अस्पतालमा बेडको अभाव भएको समाचारहरु बाहिरिएपछि काँग्रेस रुपन्देही आईसोलेशन, अस्थायी अस्पताल वा कोरोना रोकथाम तथा नियन्त्रणको काममा प्रयोगमा दिने निर्णय गरेको थियो ।
काँग्रेसको उक्त निर्णय पछि भिम अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई आवासको लागि माग भए बमोजिम दिईएको नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँले जानकारी दिनुभयो ।
भैरहवा स्थित भिम अस्पतालको पछाडी पट्टि रहेको काँग्रेसको पार्टी कार्यालयमा २५ बेड तयार गरिएको र २५ जना चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आवासको व्यबस्था मिलाईएको जिल्ला सभापति तथा पूर्व राज्यमन्त्री अब्दुल रज्जाकले बताउनु भयो ।
सभापति रज्जाकले आवश्यकता अनुसार अरु बेड पनि तयार गर्न सकिने र अन्य स्वास्थ्य संस्थाले समेत सोही अनुसार प्रयोगमा ल्याउन सक्ने बताउनु भयो ।