जीपि कोईरालाको स्मृतिमा अनाथलाई खाना

1.3K

जीपि कोईरालाको स्मृतिमा अनाथलाई खाना

गिरिजाप्रसाद कोईराला (जीपि) फाउण्डेशन जिल्ला समिति रुपन्देहीले बुटवल स्थित मानव सेवा आश्रममा रहेका सहयोगापेक्षी (बेसहारा, अशक्त, असाहय, अनाथ, अभिभावकविहिन) हरुलाई खाना खुवाएको छ । नेपाली राजनीतिका शिखर व्यक्तित्व स्वर्गीय गिरिजाप्रसाद कोईरालाको १२ औं स्मृति दिवसको अवसरमा फाउण्डेशनले मंगलवार बिहान आश्रममा रहेका सहयोगापेक्षीहरुलाई खाना खुवाएको हो ।
२०४७ सालको आन्दोलन, २०६२÷६३ सालको दोश्रो जनआन्दोलन, दशक लामो माओवादी सशस्त्र द्वन्द्वलाई शान्तिपूर्ण रुपान्तरण, १२ बुँदे सम्झौता लगायत नेपाली राजनीतिका महत्वपूर्ण कालखण्डमा विशेष योगदान पुराउनु भएका क्रान्ति नायक जीपि कोईरालाको स्मृतिमा सामाजिक उत्तरदायित्व अन्तर्गत आश्रममा खाना खुवाउने कार्यक्रम गरिएको फाउण्डेशनका जिल्ला अध्यक्ष चिरन्जिवी शर्मा पौडेलले बताउनु भयो ।
कोईरालाको स्मृतिमा फाउण्डेशनका अध्यक्ष पौडेलको अध्यक्षतामा आश्रममा आयोजना गरिएको संक्षिप्त कार्यक्रममा नेपाली कांग्रेसका लुम्विनी प्रदेश सदस्य रामबहादुर कार्की, फाउण्डेशनका लुम्विनी प्रदेश संयोजक तथा बुटवल उपमहानगर समितिका सभापति खेलराज पाण्डे, महासमिति सदस्य चित्र केसी, फाउण्डेशनका जिल्ला सदस्य छायाँ पोखरेल लगायतले बोल्दै प्रजातन्त्रलाई संस्थागत गर्न, माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन र गणतन्त्र स्थापना गर्न गिरिजा प्रसाद कोईरालाको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो । फाउण्डेशनले आश्रममा रहेका अशक्त, अनाथ, बेसहारा नागरिकलाई खाना खुवाएर उदाहरणीय काम गरेको भन्दै उहांहरुले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गर्नुभयो ।
गिरिजाप्रसाद कोइरालाको जन्म वि.सं. १९८१ असार १८ मा भारतको बिहार राज्यका टेडी सहर्षामा भएको थियो । जहानियाँ राणा शासनको विरोध गरेको कारण निर्वासनमा रहनुभएका कृष्णप्रसाद कोइराला र दिव्या कोइरालाको कान्छो छोराको रुपमा गिरिजाप्रसादको जन्म भएको थियो । गिरिजाप्रसाद कोइराला मुलुकमा पाँच पटक प्रधानमन्त्री हुनुभयो भने चार कार्यकाल पार्टी सभापति हुनुभयो । कोइरालाको ८५ वर्षको उमेरमा २०६६ साल चैत ७ गते निधन भएको थियो ।