एकता वचत तथा ऋण सहकारी संस्थाको स्थापना दिवसको अवसरमा ग्राहकलाई सम्मान तथा कार्यालयमा दीपावली गरिएको छ । संस्थाको २४ औं स्थापना दिवसको अवसरमा शुक्रबार बिहान कार्यालयमा पुजाआजा गरि पहिलो ग्राहकलाई सम्मान गरिएको हो ।
स्थापना दिवशकै अवसरमा साँझ कार्यालयमा दीपावली गरिएको संस्थाका सचिव विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो । त्यस अवसरमा बोल्दै संस्थाकी अध्यक्ष सावित्रा टण्डनले सहकारीको मुल्यमान्यता अनुसार संस्थाले काम गरिरहेको बताउनु भयो । उहाँले अग्रजको मेहनत र लगावका कारण संस्था यहाँसम्म आईपुगेको बताउँदै अग्रजकै मार्गदर्शन अनुसार संस्थालाई अगाडी बढाईने जानकारी गराउनु भयो ।
बुटवल उपमहानगरपालिका वडा नं. ४ लक्ष्मीनगरमा कार्यालय रहेको एकता सहकारीले प्रतिक र विशाल दुईवटा सहकारीलाई प्राप्ती गरेको छ । त्यस्तै बुटवल उपमहानगरपालिका वडा नं. ६ बुद्धपथमा आफ्नै जग्गामा भवन निर्माण भईरहेको छ ।
त्यस्तैगरी बुटवलको होराईजन चोक र सुख्खानगरमा सेवा केन्द्र सञ्चालन गरेको छ । रुपन्देही जिल्ला कार्यक्षेत्र रहेको उक्त सहकारीमा हाल १ हजार ९ सय बढी शेयर सदस्य छन् । त्यस्तै संस्थाको वार्षिक कारोवार ४५ करोड पुगेको बताईएको छ ।
कार्यक्रममा साविक प्रतिक सहकारीका अध्यक्ष ठाकुरप्रसाद ज्ञवाली, साविक विशाल सहकारीका अध्यक्ष निमानन्द गैरेले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रम सचिव विष्णुप्रसाद पौडेलको सञ्चालनमा भएको थियो ।