संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले अब पोखरालाई विश्वसँग जोड्ने बताउनुभएको छ । चीन सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण गरेसँगै हिजो शनिवार विमानस्थल निर्माण कम्पनीलाई कदरपत्र प्रदान गर्दै उहाँले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि अब नेपालको पर्यटन प्रवद्र्धन गर्न तथा नेपालमा बढीभन्दा बढी पर्यटक भित्रयाउन थप टेवा पुग्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘पोखरा संसारका पर्यटकहरूको आकर्षणको केन्द्र हो । मलाई लाग्छ, आफ्नो व्यस्तताबाहेक नेपाल आएका पर्यटकहरू पोखरा नपुगी फर्किन मान्दैनन्, त्यसैले अब यो विमानस्थलले पोखरा आउन चाहने पर्यटकका लागि सजिलो बनाउने छ ।’
मन्त्री आलेले पोखरेली र पोखराका पर्यटन व्यवसायीलाई बधाई दिँदै पोखरामा अब ठूला होटल निर्माण गर्न र पर्यटन प्रवद्र्धनका प्याकेज कार्यक्रम ल्याउन पनि आग्रह गर्नुभयो । विभिन्न पूर्वाधार निर्माण गरी यहाँ आउने पर्यटकहरूलाई धेरै दिन बास बसाउन सक्ने कार्यक्रम ल्याउन मन्त्री आलेले पोखराका पर्यटन व्यवसायीहरूलाई आग्रह गर्नुभयो ।
यस्तै मन्त्री आलेले पोखराबाट अन्तर्राष्ट्रिय क्षेत्रमा उडान गर्दा टनकपुर हुँदै दिल्ली जाने र फर्किँदा त्यो रुट नेपालको हवाईजहाजले नपाउने भएकाले आफू भारतको हैदराबाद गएर त्यहाँका आफ्ना समकक्षी आदित्यनारायण सिन्धियासँग कुरा गरेको र उहाँ सकारात्मक रहेको जानकारी दिनुभयो ।