म्यादी प्रहरीको लागि झन्डै चार लाख जनाले आवेदन दिएका छन् । ०७९ वैशाख ३० मा हुन गइरहेको स्थानीय चुनावका लागि प्रहरीले एक लाखको संख्यामा म्यादी माग गर्दै आवेदन खुलाएको थियो ।
चैत ६ देखि १२ गतेसम्म आवेदन खुला गरिएकोमा उक्त अवधिमा तीन लाख ९३ हजार तीन सय १२ जनाबाट आवेदन आएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
चुनावमा सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत सुरक्षाकर्मी कम हुने भएपछि म्यादी प्रहरी राख्न लागिएको हो । प्रहरीले ७७ जिल्ला प्रहरी कार्यालयबाट आवेदन माग गर्दा मागभन्दा धेरै आवेदन आएका थिए । आवेदन आएकामध्येबाट अब म्यादी प्रहरी छनौट गरिने प्रहरीले जनाएको छ ।
म्यादी प्रहरीको लागि १८ वर्ष नाघेको र ५४ वर्ष ननाघेको हुनुपर्नेछ । म्यादी प्रहरीको कार्यअवधि बढीमा ४० दिनसम्मको हुने प्रधान कार्यालयले जानकारी दिएको छ । सेवा सुविधा स्वरूप म्यादी प्रहरीले नेपाल प्रहरीको जवान सरहको हुने जनाएको छ । म्यादी प्रहरीको तलब ३० हजार २४० रुपैयाँ, खाद्यान्न बापत एकमुष्ठ ७ हजार २ सय र पोशाक तथा अन्य सामान खरिद गर्न ६ हजार रुपैयाँ दिने भएको हो ।