होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको आज बुटवलमा २१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा होटल तथा पर्यटन व्यवसायीहरुले पर्यटन नीति बनाउन तिनै तहका सरकारसंग माग गर्नु भएको छ । पर्यटन क्षेत्रको विकास गर्ने गरी राज्यको स्पष्ट पर्यटन नीति नभएकाले पर्यटन व्यवसाय सञ्चालनमा समस्या भएको व्यवसायीले औल्याएका छन् ।
उनिहरुले पर्यटन र कृषि क्षेत्रको विकासमा राज्यले कुरा मात्र गर्ने व्यवहारमा कार्यान्वयन नर्गदा समस्या विकराल बनेको गुनासो गरेका छन् । कोरोना महामारीका कारण थला परेको पर्यटन व्यवसाय कोरोना संक्रमण घट्दै गएपछि केही सहज हुनथालेको बेला देशको अस्थिर राजनीतिले पर्यटन व्यवसाय प्रभावित भएको व्यवसायीको भनाइ छ ।
कार्यक्रममा बोल्दै पर्यटन व्यवसायी तथा होटल व्यवसायी महासंघ नेपालका संस्थापक अध्यक्ष माधवप्रसाद नेपालले राज्यको स्पष्ट पर्यटन नीति नभएकै कारण पर्यटन क्षेत्र फस्टाउन नसकेको बताउनुभयो ।
पर्यटन क्षेत्रको विकासले देशको आर्थिक सम्वृद्विहुने प्रसस्त सम्भावना रहेपनि त्यसप्रति राज्यले ध्यान दिन नसकेको उहाँले दावी गर्नुभयो । उहांले देशलाई आर्थिक रुपले सम्वृद्वि बनाउन पर्यटन र कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर समयको माग अनुसार स्पष्ट नीतिनै चाहिने बताउनुभयो ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष रामप्रसाद गौतमले पर्यटन व्यवसायलाई राज्यले उद्योग सरहको मान्यता दिने निणर्य गरेपनि कार्यान्वयन हुन नसकेको बताउनुभयो । विदेशी मुद्धा आर्जनको एकमात्र स्रोत्तको रुपमा रहेको पर्यटन व्यवसाय धरासायी अवस्थामा पुगेको र रोजगारी गुमेको अनि व्यवसायी पेशाबाट पलाएन हुँदापनि राज्यपक्ष गम्भिर हुन नसकेको धारणा राख्नु भयो । कोभिड अवधीको विद्युत डिमाण्ड चार्ज छुट गर्ने सरकारको निणर्य ठिक भएपनि सबै व्यवसायीले सेवा लिन नसकेको बताउनुभयो ।